detail-img

पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
२४ जेठ (२०८२), विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने बताउनुभयो । 
‘जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै कारण विरामीले उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ, दुनियाँमा कमै मात्र यस्ता अस्पताल हुन्छन्’, प्रधानमन्त्री ओलीले भन्नुुभयो– दुई सय शैय्याबाट तीन सय शैय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।
सो अस्पतालका अध्यक्ष एवं मोरङ–५ का सङ्घीय सांसद योगेन्द्र मण्डलको नेतृत्वमा सिर्जनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारीवृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले प्रतिफल राम्रो नहुने र तिर्न नसक्ने ऋण नलिई यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेताहरूलाई आग्रह गर्नुभयो ।