प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन – २०७९

संक्षिप्त जानकारी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आइसकेको छ । चौतर्फी घेराबन्दीका बीच सम्पन्न यस निर्वाचनमा नेकपा (एमाले) प्रतिनिधिसभामा सिटको आधारमा पहिलो दल बनेको छ र नेपाली कांग्रेसभन्दा मात्र ११ सिट पछाडि छ । एमालेबिरुद्ध घेराबन्दी गर्ने पाँच दलीय गठबन्धनलाई सामान्य बहुमत पनि प्राप्त भएको छैन ।

 

यसपालीको प्रतिनिधिसभाको निर्वाचनमा ११२ देखि ४३० मतको अन्तरमा नेकपा (एमाले) का ८ जना उम्मेदवार पराजित हुनुभएको छ । १ हजार ७९ मत भन्दा कम मतान्तरमा पराजित हुने नेकपा (एमाले) का उम्मेदवारको सङ्ख्या १४ छ । यसरी ११२ देखि ३ हजार ८३ मतान्तरमा पराजित हुने नेकपा (एमाले) का उम्मेदवारको संख्या २५ छ ।

 

प्रतिनिधिसभामा ५ सयभन्दा कम मतान्तरमा जित्ने १७ जना हुनुहुन्छ । जसमध्ये नेपाली कांग्रेसका ७, नेकपा (एमाले) का ५, माओवादी केन्द्रका २ र अन्य पार्टीका ३ जना हुनुहुन्छ । एक हजारभन्दा कम मतान्तरमा जित्ने २२ जनामध्ये नेपाली कांग्रेसका ९, नेकपा (एमाले) का ७, माओवादी केन्द्रका २ र अन्य पार्टीका ४ जना हुनुहुन्छ ।

 

प्रतिनिधिसभाका १६५ क्षेत्रका उम्मेदवारमध्ये नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्बाधिक ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का बिजयी उम्मेदवारमध्ये सबैभन्दा कम ११ हजार ९५ मत स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठको रहेको छ । प्रदेशसभाका बिजयी एमाले उम्मेदवारमध्ये होमबहादुर थापाको सबैभन्दा बढी २४ हजार १२९ र शेरबहादुर बुढाको सबैभन्दा कम ४ हजार ७४३ मत छ ।

 

यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसको उपस्थिति १२ जिल्लाबाट शून्य छ । नेकपा (एमाले) को उपस्थिति २४ जिल्लामा रहेन भने नेकपा (माओवादी केन्द्र)को २८ जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा उपस्थिति छैन ।

 

यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) ले धनकुटा, पर्वत र अर्घाखाँची गरी ३ जिल्लामा क्लिन स्वीप (प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा विजय) गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले १÷१ जिल्लामा (क्रमशः मुस्ताङ र रुकुम पश्चिम) मात्र प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिट जितेका छन् ।

 

२०७४ को निर्वाचनमा जितेका स्थानमा आएको परिवर्तन

नेकपा (एमाले) ले २०७४ सालमा प्रतिनिधिसभामा जित हासिल गरेका ८० मध्ये यसपाली ४६ स्थानमा जित कायम राख्न सकेन । तिमध्ये ३२ निर्वाचन क्षेत्र गठबन्धनको बलमा कांग्रेसले खोसेको छ भने माओवादी केन्द्रले २, नेकपा एसले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले १ र राजमो तथा नागरिक उन्मुक्ति पार्टीले १÷१ निर्वाचन क्षेत्र खोसेका छन् । नेकपा (एमाले) ले आफूले पहिले जितेकामध्ये १÷१ क्षेत्र चुनावी तालमेलको क्रममा क्रमशः राप्रपा र जसपालाई छोडेको छ ।

 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको नामावलीका लागि यहाँ क्लिक गर्नुहोस ।

 

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।