२३ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्र र पञ्चायतमा कुनै तुलना नै हुन नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित ‘आर्थिक वर्ष २०८२÷०८३ को बजेट विमर्श’ कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले पनि पूर्वपञ्च र मण्डलेहरूले लोकतन्त्रले के दियो भन्ने लज्जास्पद अभिव्यक्ति दिने गरेका बताउनुभयो ।
‘जनताको बीचमा भ्रमपूर्ण प्रचार गरिराखिएको अवस्था छ, पञ्चायतको तुलनामा लोकतन्त्रमा उल्लेख्य परिवर्तन भएको छ’, उहाँले भन्नुभयो ।
पञ्चायतको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक विकासमा उल्लेख्य परिवर्तन भएको छ, तथापि विश्व अर्थव्यवस्था अनुसार नेपालको आर्थिक विकास जुन गतिमा हुनुपर्ने थियो, त्यस्तो हुन नसकेको महासचिव पोखरेलले सुनाउनुभयो । पञ्चायतमा के थियो र अहिले के भन्ने कुरा सबैका अगाडि छर्लङ्ग रहेको उहाँले बताउनुभयो ।
अहिले विश्व अर्थतन्त्रको तुलनामा नेपालको गति अघि बढाउने कुरा भने निक्कै चुनौतीपूर्ण रहेको महासचिव पोखरेलले बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला निक्कै गति लिएको नेपालको अर्थतन्त्र राजनीतिक अस्थिरताको कारण मन्दीको अवस्थामा पुगेको र अहिले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि त्यसमा क्रमशः सुधार हुँदै आएको महासचिव पोखरेलको भनाइ छ ।
राज्यको कोष बढाउने भन्दा आफ्नो स्वार्थ पूरा गर्ने काममा जिम्मेवारीमा रहेका मानिसहरू लाग्दा नेपालको अर्थतन्त्र कमजोर भएको उहाँले बताउनुभयो । राजनीतिक नेतृत्वसहितको अर्थ प्रशासन कमिसनको चक्करमा लाग्दा देशको अर्थतन्त्र निक्कै कमजोर भएको महासचिव पोखरेलको भनाइ छ । नेपालको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा नल्याउँदासम्म देश आर्थिक रूपले सबल नहुने उहाँले बताउनुभयो । अहिलेको सरकारले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउने प्रयास गरेको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।
नेपालको अर्थतन्त्र कमजोर हुनेको प्रमुख कारण घरजग्गाको कारोबार भएको र घरजग्गामा गरेको लगानी डुब्दा देशको अर्थतन्त्र चलायमान हुन नसकेको उहाँको धारणा छ ।
निजी क्षेत्र हतोत्साहित हुँदा मुलुकको राजश्व घट्ने कुरालाई महसुस गरेर नै अहिलेको सरकारले निजी क्षेत्रमैत्री बजेट तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । यसले देशको अर्थतन्त्र विकासको लागि थप सहयोग गर्ने महासचिव पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।
समाजवाद निर्माणको कुरा गर्ने पार्टीले ढुकुटी रित्तिएको अवस्थामा सोचे जस्तो समाजवाद केन्द्रित बजेट ल्याउन नसकेको र राष्ट्रिय पुँजीको जगमा समाजवादको जग स्थापित हुने बताउँदै अहिले राष्ट्रिय पुँजी खुम्चिएको उहाँले बताउनुभयो । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । बजेट विमर्शमा विज्ञका रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।