२४ जेठ (२०८२), भरतपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताको लागि एमालेलाई पहिलो शक्ति बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।
आज चितवनमा आयोजित नेकपा (एमाले) जिल्ला प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले विचारको शक्तिबाट नै समाज र राष्ट्र निर्माण सम्भव हुने बताउनुभयो ।
‘जब हामीले सही विचारलाई समाजमा स्थापित गर्न छाड्छौँ, तब अराजकता मौलाउँछ, जबसम्म गलत विचारहरूले पोल्दैन, तबसम्म समाज परिवर्तन सम्भव हुँदैन’, उहाँले भन्नुभयो ।
नागरिकलाई उज्यालो भविष्यको आशा देखाएर मात्र वर्तमान समस्यासँग लड्न प्रेरित गर्न सकिने बताउँदै महासचिव पोखरेलले नागरिकलाई उज्यालो भविष्यको सपना देखाउने पार्टी एमाले भएको स्पष्ट गर्नुभयो ।
पार्टी विचार, दृष्टिकोण र गन्तव्यमा एकमत र वर्तमान अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सशक्त र स्पष्ट रहेको उहाँको भनाइ छ । महासचिव पोखरेलले राष्ट्रको ढुकुटी कमजोर भएका कारण अपेक्षाअनुसारको बजेट तथा कार्यक्रम ल्याउन कठिन भएको बताउनुभयो ।
उहाँले विगतमा एमालेको नेतृत्वमा अर्थतन्त्रले सकारात्मक गति लिएको स्मरण गराउँदै वर्तमानमा पनि बिस्तारै अर्थतन्त्रमा सुधार देखिन थालेको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– एमालेले नेतृत्व लिएको बेला सधैँ अर्थतन्त्रको विकास भएको छ, अहिले पनि अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन लागेको छ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको यथार्थलाई बिर्सिएर एमाले माथि अनावश्यक आरोप लगाउनु गलत भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– एक मात्र होइन, धेरै सहकारीहरूबाट पैसा ठगिएको छ, टेलिभिजन छाडिसकेको अवस्थामा पनि लामिछानेले आफ्नी श्रीमती र ससुराको नाममा चेक काटेको देखिएको छ ।
हालका दिनमा एमालेविरुद्ध चारवटा शक्तिहरू विशेष रूपले आक्रामक रूपमा प्रस्तुत भइरहेको उहाँले बताउनुभयो । ‘राजावादी, माओवादी, अराजकतावादी र राष्ट्र विरोधी विदेशी शक्तिहरूले सङ्गठित रूपमा एमालेमाथि योजनाबद्ध आक्रमण गरिरहेका छन्’, महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले जातीय राज्य निर्माण गर्न चाहनेहरू, ‘एक मधेस, एक प्रदेश’को नारा दिनेहरू र सङ्घीयता विरोधी शक्तिहरू पनि एमालेविरुद्ध उत्रिएको बताउनुभयो । महासचिव पोखरेलले एमालेविरूद्ध फैलाइएका भ्रमहरूको सशक्त प्रतिवाद गर्नु आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।
नेपालमा दलहरूले १५ वर्ष मात्र शासन गर्न पाएको र बाँकी सारा समय राजतन्त्रको शासन रहेको स्मरण गराउँदै उहाँले लोकतन्त्रपछिको विकास नदेख्ने चटकेहरूको भ्रममा पर्नु नहुने बताउनुभयो ।
एमाले राष्ट्रका समस्या पहिचान गर्ने र समाधानतर्फ कदम चाल्ने दृष्टिमा सधैँ अगाडि रहेको उहाँले बताउनुभयो । समृद्ध नेपाल निर्माणको यात्रा सुरु गर्न र नेतृत्व दिन सक्ने शक्ति एमाले भएको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– देशलाई समृद्धिको बाटोमा अघि बढाउनु छ भने एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउनुपर्छ ।
आगामी निर्वाचनमा नेकपा (एमाले) लाई पहिलो शक्ति बनाउँदै मिसन–२०८४ सफल पार्न पार्टीका नेताकार्यकर्ताहरूले जनतासँग निरन्तर संवाद र सम्पर्क अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।