detail-img

नेपाललाई कमजोर बनाउन चाहने शक्तिद्वारा एमालेमाथि हमलाः बरिष्ठ उपाध्यक्ष पोखरेल

२४ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेविरुद्ध डरलाग्दो हमला भइरहेको बताउनुभएको छ । 
नेकपा (एमाले) ओखलढुङ्गाको लिखु–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाललाई कमजोर बनाउन चाहने शक्तिले एमालेमाथि हमला गरिरहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कुनै छ भने त्यो एमाले हो । 
एमाले राष्ट्रियताको पक्षमा दृढ अडानका साथ उभिने पार्टी भएकाले आक्रमण भइरहेको भनाइ राख्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– जुन शक्तिका मतियारहरूले नेपाललाई कमजोर बनाउन चाहन्छन्, तिनीहरूले एमालेमाथि हमला गर्दै छन् । 
राष्ट्रिय हितको पक्षमा छिमेकीसँग आँखा जुधाएर कुरा गर्नुपर्ने उहाँको स्पष्ट धारणा छ ।
१९५० को सन्धि समयानुकूल पुनरावलोकन गर्ने पहिलो नेपालको प्रधानमन्त्री मनमोहन अधिकारी भएको उहाँले सुनाउनुभयो । तत्कालीन प्रधानमन्त्री अधिकारी बाहेक कुनै पनि राजा वा प्रधानमन्त्रीले त्यस अघि सो सन्धि पुनरावलोकन गर्ने कुरा गर्न नसकेको उहाँले बताउनुभयो । असमान सन्धिका भारी बोकेर हिँड्दा पनि त्यसविरुद्ध एमाले बाहेक कसैले आवाज उठाउन नसकेका बरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पार्नुभयो । मनमोहनकै लाइनबाट भारतसँगको सम्बन्ध पुनरावलोकन गर्नुपर्छ भन्ने नेता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भएको उहाँले बताउनुभयो ।
आर्थिक विकास र समृद्धिका एजेण्डा बोकेर अघि बढेको पार्टी एमाले भएको बताउँदै नेपालमा आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू एमालेविरुद्ध लागेका उहाँले सुनाउनुभयो । लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पनि एमालेमाथि आक्रमण भएको बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । कुनै एउटा जातिको बहुमत नभएको देश नेपालमा सामाजिक सद्भाव भड्काउन चाहनेहरू एमालेमाथि आक्रामक बनेका उहाँले बताउनुभयो । 
एमाले जन्मसिद्ध अधिकारको आधारमा शासन चलाउने कुराको विरुद्धमा उभिने बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । वंश परम्परामा आधारित शासन सत्तालाई एमालेले नमान्ने भन्दै योग्यताको आधारमा लोकतान्त्रिक विधिबाट आउनेले शासन चलाउने उहाँले स्पष्ट पार्नुभयो । एमाले अनिर्वाचित शासन सत्ताको पक्षमा पनि नरहेको बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले यही अडानको आधारमा एमाले राजाको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो ।