नेपाल कम्युनिस्ट पार्टीले नेपालमा पहिलो पटक भएको आम निर्वाचन (वि. सं. २०१५ फागुन ७) मा भाग लिएको थियो । २००६ वैशाख १० गते तदनुरुप २२ अप्रिल, १९४९ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी २००७ सालको क्रान्तिको एक महत्वपूर्ण शक्ति थियो । संविधानसभाको निर्वाचनमार्फत् प्रजातान्त्रिक संविधान बनाउने घोषणसहित राणा–काङ्ग्रेसको अन्तरिम सरकार बने पनि त्यसबीचमा भएका अनेक उतारचढाव र चलेखलहरुले त्यो सम्भव नभएपछि संसद्का लागि निर्वाचन हुँदा नेकपा सहभागी भएको थियो । जनता र परिवर्तनका पक्षधर शक्तिहरुमा असन्तुुष्टि बढ्ने क्रममा २००८ माघ ८ गते डा. केआई सिंहको नेतृत्वमा विद्रोह भएर सिंहदरबार कब्जा भएपछि माघ १० गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । यसका विरुद्धमा एकातिर कम्युनिष्ट पार्टीको निरन्तरको विरोध र जनदवाब सिर्जना भएको थियो भने अर्कातिर राजा महेन्द्रको राज्याभिषेकको निम्तोमा रुस र चीनबाट कम्युनिस्ट पार्टीका नेताहरुसहितका अतिथिहरु आउने भएकाले नेकपामाथि प्रतिबन्ध लगाउनु उचित नठानेर होला, २०१३ वैशाख ४ गते गृह मन्त्रालयद्वारा कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध खुला भएको विज्ञप्ति जारी गरिएको थियो ।
यस पृष्ठभूमिमा खुल्ला भएको कम्युनिस्ट पार्टीले दुई बर्षािभत्रै आयोजना भएको आमनिर्वाचनमा भाग लिनुपरेको थियो ।
२०१२ फागुन २४ गते भएको शाही घोषणाबाट २०१४ असोजदेखि महानिर्वाचन थाल्ने भनिए पनि त्यस मितिमा चुनाव भएन र २०१४ पुस १ गते पुनः शाही घोषणा गरी २०१५ फागुन ७ गतेबाट आमचुनाव आरम्भ गरिएको थियो ।
२०१५ जेठ २१–२४ मा रौतहट बसेको नेकपाको द्वितीय प्लेनमले फागुन ७ मा सम्पन्न हुने निर्वाचन ऐतिहासिक महत्वको भएको हुनाले त्यसमा भाग लिने निर्णय ग¥यो । कुन–कुन क्षेत्रमा उम्म्ेदवारी दिने, ककसलाई कहाँ उम्मेदवार बनाउन उपयुक्त हुन्छ, स्वतन्त्र उम्मेदवार को हुन सक्छन, प्रचार नीति कस्तो बनाउने, अरुले कस्तो प्रचार गरिरहेका छन् ? यस्ता विषयमा अध्ययन गर्न, उपयुक्त निर्णय लिन र आफ्नो चुनाव कार्यलाई सफल र सुविधाजनक बनाउनका लागि ६ जनाको केन्द्रीय चुनाव बोर्ड गठन गरेको थियो । उक्त बोर्डमा डा. केशरजंग रायमाझी (महासचिव), पुष्पलाल (पोलिट्ब्युरो सदस्य), डा. डी.पी. अधिकारी (पोलिट्ब्युरो सदस्य), कमर शाह (पोलिट्ब्युरो सदस्य), तुुल्सीलाल अमात्य (पोलिट्ब्युरो सदस्य) र कृष्णराज बर्मा (केन्दीय सदस्य) रहेका थिए ।
उक्त वैठकले पार्टीको चुनावि नीति पनि तय गरेको थियो, जस अनुसार अधिकांश स्थानहरुमा पार्टीले आफ्नो उम्मेदवार खडा गर्ने र उम्मेदवार नभएका कतिपय स्थानमा आफ्ना समर्थक उम्मेदवारहरु खडा गर्ने नीति लियो । जहाँ आफ्ना वा आफूद्वारा समर्थित उम्ेदवार खडा नभएको ठाउँमा प्रजातान्त्रिक तत्वलाई समर्थन गर्ने निर्णय पनि भएको थियो । चुनावमा कम्युनिस्ट पार्टीको मुख्य नीति प्रतिक्रियावादी तथा पुनरुत्थानवादी तत्वलाई पराजित गरी प्रजातान्त्रिक तत्वलाई विजयी गराउनु रहेको थियो ।
पहिलो चरणको मतदान निर्धारित मिति अर्थात् २०१५ फागुन ७ गते नै भयो भने दोस्रो चरणको मतदान २०१६ वैशाख २१ मा सम्पन्न भयो । मतगणना गर्न तीन महिना लागेको थियो । १ सय ९ स्थानका लागि विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र गरी ७ सय ८६ उम्म्ोदवारहरु खडा भएका थिए । नेपाल कम्युनिस्ट पार्टीले तीन घोगा मकै सहित हँसिया चुनाव चिन्हका साथ ४७ स्थानमा उम्मेदवार खडा गरेको थियो ।
सबै जिल्लामा संगठन नै नपुगेको, चार बर्ष लामो प्रतिबन्धबाट भर्खरै मुक्त भएको र उम्मेदवार नै आधाभन्दा कम क्षेत्रमा उठाएको नेपाल कम्युनिस्ट पार्टीले ४ स्थान अर्थात् ८.५१ प्रतिशत विजय हासिल गरेको थियो । ३३ स्थानमा जमानत जफत हुनुु पार्टीका निम्ति निरासाजनक भए पनि कुल मतदाताहरुबाट प्राप्त मत भने निरासाजनक थिएन । नेपाली काङ्ग्रेसले ६,६६,८९८ अर्थात् ३७ प्रतिशत थियो भने १९ स्थान पाई दोस्रो हुने राष्ट्रवादी गोर्खा परिषद्ले ३,०५१,१८ मत अर्थात् १७ प्रतिशत मत प्राप्त गरेको थियो भने नेकपाले १,२९,०४२ मत अर्थात् ७.२० प्रतिशत मत प्राप्त गरेको थियो ।
क्र.स. | पार्टीको नाम | उम्मेदवार संख्या | विजयी संख्या | पराजित संख्या | दोस्रो भएको संख्या | जमानत जफत भएको संख्या | जम्मा प्राप्त मत | प्रतिशत |
---|---|---|---|---|---|---|---|---|
१ | नेपाली काङ्ग्रेस | १०८ | ७४ | ३४ | २२ | १२ | ६,६६,८९८ | ३७.२२ |
२ | नेपाली राष्ट्रिय गोरखा परिषद् | ८६ | १९ | ६७ | ३४ | ३३ | ३,०५,११८ | १७.०३ |
३ | सं.प्र.पार्टी,नेपाल | ८६ | ५ | ८१ | १४ | ६७ | १,७७,४०८ | ९.९० |
४ | नेपाल कम्युनिस्ट पार्टी | ४७ | ४ | ४३ | १० | ३३ | १,२९,०४२ | ७.२० |
५ | नेप्रपा(आचार्य) | ४६ | २ | ४४ | ४ | ४० | ५३,०३८ | २.९ |
६ | नेप्रपा (मिश्र) | ३६ | १ | ३५ | ३ | ३२ | ५९,८२० | ३.३३ |
७ | तराई काङ्ग्रेस | २१ | ० | २१ | १ | २० | ३६,१०७ | २.०१ |
८ | ने.रा.काङ्ग्रेस | २० | ० | २० | १ | १९ | १२,७०७ | .०७ |
९ | प्र.महासभा | ६८ | ० | ६८ | १ | ६७ | ५९,८१६ | ३.३३ |
१० | स्वतन्त्र | २६८ | ४ | २६४ | १८ | २६४ | २,९१,८४७ | १६.२५ |
जम्मा | ७६८ | १०९ | ६७७ | १०८ | ५६९ | १७,९१,२०१ | ९९.९३ |
उपर्युक्त तालिका समेतबाट नेपाल कम्युनिस्ट पार्टीको तुलनात्मक स्थिति अवगत हुन्छ । उल्लेखनीय पक्ष के छ भने ५ जनाको पोलिट्ब्युरोमध्ये ४ जना उम्मेदवार हुनुभएको थियो, जसमध्ये तुल्सीलाल अमात्य उपत्यका ललीतपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो भने ३ जना पराजित हुनुभयो । केन्द्रीय कमिटी सदस्यहरुमध्ये एक जना कमलराज रेग्मी पाल्पा क्षेत्र नम्बर ९४ बाट निर्वाचित हुनुभयो । थप दुुईजना निर्वाचित हुनेहरुमा मध्ये शेख फर्मान मध्यपूूर्व रौतहट क्षेत्र नम्बर ४९ बाट र हरदयाल महतो रौतहट ५० बाट निर्वाचित हुनुभएको थियो ।
पोलिट्ब्युरो सदस्य शम्भुराम श्रेष्ठ माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो ।
पार्टीले जितेका ४ स्थान मध्ये ३ स्थानमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए भने एक स्थानमा गोर्खा परिषद्का उम्मेदवारलाई पराजित गरेका थिए । साथै, सबैजसो स्थानमा कम्युनिष्ट पार्टीको मुख्य प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेस नै देखा प¥यो । कम्युनिष्ट पार्टीका उम्मेदवारहरुको ३४ स्थानमा नेपाली कांग्रेससँग, ६ स्थानमा गोर्खा परिषद्, २ स्थानमा संयुुक्त प्रजातन्त्र पार्टी, २ स्थानमा नेपाल प्रजापरिषद् (आचार्य गुट), १ स्थानमा नेपाल प्रजापरिषद् (मिश्र गुट) र २ स्थानमा स्वतन्त्र उम्मेदवारसँग निकटतम प्रतिद्वन्द्विता रहेको थियो ।