detail-img

अहिले एमाले र यसको नेतृत्वलाई गाली नगरी विरोधीका पसल चल्दैनन्ः उपमहासचिव ज्ञवाली 

-धेरैले मैदान खालि गरेको बेला पनि एमालेका कार्यकर्ताहरू कुटिँदै, काटिँदै, अपहरणमा पर्दै गर्दा पनि मैदान छाडेर भाग्नुभएन्, उहाँहरूले पार्टीको बिउ जोगाइराख्नुभयो 

२३ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अत्यन्त अप्ठेरा स्थिति झेलेर अहिलेको अवस्थामा आएको बताउनुभएको छ । 
नेकपा (एमाले) बाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमाले इतिहासका निक्कै सङ्गिन मोड पार गर्दै अघि बढेको बताउनुभयो । ‘नेकपा (एमाले)ले धेरै प्रतिकूलताका बीचमा जित हासिल गर्दै आएको छ’, उहाँले भन्नुभयो । 
एमालेले प्रतिकूलताका बीचमा पनि आफ्नो आस्थालाई, विचारलाई, संगठनलाई जोगाएर राखेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो– धेरैले मैदान खालि गरेको बेला पनि एमालेका कार्यकर्ताहरू कुटिँदै, काटिँदै, अपहरणमा पर्दै गर्दा पनि मैदान छाडेर भाग्नुभएन्, उहाँहरूले पार्टीको बिउ जोगाइराख्नु भयो ।
शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले आतङ्क मच्चाएको बताउँदै त्यो बेलामा पनि एमालेले आफूलाई जोगाएर अघि बढेको उहाँले स्मरण गराउनुभयो । पछि पहिचानको नाममा समाज विभाजित हुँदा पनि एमालेलाई जोगाएर राखिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । 
पार्टी विभाजनको सङ्गिन घडीमा समेत कार्यकर्ताले एमालेलाई जोगाएर राखेका स्मरण गर्दै उहाँले भन्नुभयो– पार्टीको नाम हाम्रो रहन्छ कि रहन्न, चुनाव चिन्ह हामीसँग रहन्छ कि रहन्न, यत्रो बनाएका हाम्रा संरचनाहरू, पार्टीको विरासत हामीसँग रहन्छ कि रहन्न भन्ने अवस्थामा पनि हामीले ती प्रतिकूलतालाई जित्यौँ ।  
विगतको तुलनामा अहिलेका प्रतिकूलता त्यति ठूला नभएको उहाँको भनाइ छ । एमाले देशको सबैभन्दा ठूलो पार्टी बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो– तुलनात्मक रूपमा हामी सबै अप्ठेरो कालखण्डलाई तोडेर यो बिन्दुमा आइपुगेका छौँ । 
अहिले पनि एमालेविरुद्ध विपक्षीहरू सङ्गठित रूपमा लागेको बताउँदै उहाँले हिजोका अप्ठेरो चिरेर यो अवस्थामा आएको एमालेले यी अप्ठेरा सजिलै पार गर्ने बताउनुभयो । एमालेविरुद्ध पछिल्लो समय राजावादी, माओवादी, रास्वपा लगायतका दलहरू सङ्गठित रूपमा लागेको उहाँले सुनाउनुभयो । 
अहिले एमाले र एमालेको नेतृत्वलाई गाली नगरी आफ्नो पसल नचल्ने भएपछि उनीहरू एमालेविरुद्ध उत्रिएका उपमहासचिव ज्ञवालीले बताउनुभयो । ३२ सिटको जादु नचलेपछि माओवादी, एमाले बलियो हुँदासम्म आफ्नो स्वार्थ पुरा नहुने भएपछि राजवादी र रास्वपाका नेता कार्यकर्ता एमालेका विरुद्ध खनिएको उहाँको भनाइ छ ।
यसैगरी, कार्यशालामा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्व माथि आक्रमण हुँदा पार्टी कार्यकर्ता मौन बस्न नहुने बताउनुभयो । 
उहाँले भन्नुभयो– पार्टीमाथि गलत आरोप लगाएर आक्रमण गर्दा पनि हामी धेरै नेता नै मौन बसेका छौँ । 
एमाले विरुद्ध भएको भ्रामक प्रचारलाई चिर्न र पार्टीको तर्फबाट देश र जनताको हितमा भएको काम जनतासम्म पुर्याउन आवश्यक रहेको नेता गौतमको भनाइ छ । 
प्रचार प्रमुख गौतमले भन्नुभयो– पार्टीको प्रचारको काम सबैभन्दा महत्वको काम हो, २०८४ को निर्वाचनमा डिजिटल वार हुन्छ, यसको तयारी गरिएन भने हामी पाखा लाग्ने अवस्था आउँछ । 
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवालले अहिले नयाँ पुस्ताले संसार चलाइरहेका बताउँदै नयाँ पुस्तालाई जोड्न पुरानो पुस्ता उदाहरणीय र भरोसाको प्रतीक बन्नुपर्नेमा जोड दिनुभयो । दुईदिने कार्यशाला आज सम्पन्न भएको छ ।