detail-img

प्रधानमन्त्री ओली फूलपाती बढाइँ समारोहमा 

२४ असोज (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न आयोजित फूलपाती बढाइँ समारोहमा सहभागी हुनुभएको छ ।  
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न फूलपाती बढाइँ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुहुन्थ्यो । 
समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८१’ व्यानर प्रदर्शन र  पुष्पवृष्टि गरिएको थियो । 
फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।