detail-img

बाढी, पहिरो र डुवान पीडितको सहयोगार्थ दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख प्रदान

२० असोज (२०८१), काठमाडौं । नेकपा (एमाले)ले बाढी, पहिरो र डुवान पीडितहरूको राहतमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख प्रदान गरेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूको टोलीले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।  
सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गर्नुभयो । 
नेकपा (एमाले)को यही असोज १५ गते बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट उक्त कोषमा रु. पचास लाख र संसदीय दलको बैठकले सांसदहरूको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो । 
सो रकम हस्तान्तरण कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।