detail-img

बाढी, पहिरो र डुवानमा परेका नागरिकको खोजी, उद्धार, राहत र आवासको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण  

१३ असोज (२०८१), काठमाडौं । नेकपा (एमाले)ले अविरल बर्षाका कारण आएको बाढी, पहिरो र डुवानको विपत्तिमा परेका नागरिकको खोजी, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 
महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यालयको आकस्मिक बैठकले विपत्तिमा परेका नागरिकका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको हो । 
बैठकले विपतको यस घडीमा प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीहरूलाई निर्धारित कार्यक्रमहरू स्थगन गरी बाढी पहिरो र डुबानबाट प्रभावितहरूको खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन गरेको छ । 
बैठकपछि महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा बाढी, पहिरो र डुवानमा परी मृत्यु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । एमालेले घाइतेहरूको निःशुल्क औषधि उपचारका लागि सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा (एमाले)ले शुक्रबार र शनिबार प्रतिकूल मौसमका बाबजूद जनताको जिउज्यानको सुरक्षाका लागि नेपाल सरकारले लिएको आपतकालीन पहल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत खोज, उद्धार र राहतमा खटिने पार्टीका स्थानीय कमिटी र जनसंगठनहरूप्रति हार्दिक आभार प्रकट गरेको छ । 
महासचिव पोखरेलद्वारा जारी विज्ञप्ति यस प्रकार छः
२०८१ असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा जनधनको निकै ठूलो क्षति भएको छ । आजै पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालयको आकस्मिक बैठक बस्यो । 
१.    बाढी, पहिरो र डुबानका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभे्र, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, ईलाम, महोत्तरी, सप्तरी लगायतका जिल्लामा बाढी पहिरो र डुबानमा परी सयभन्दा बढीको ज्यान गएको छ । हालसम्म प्राप्त विवरण अनुसार एक सय जनाभन्दा बढी बेपत्ता भएको र सयौंको संख्यामा घाइते भएका छन् । यसैगरी विद्युत, खानेपानी, सडक, पुलजस्ता सार्वजनिक सम्पत्ति र व्यक्तिको निजी घर र सम्पत्तिको ठूलो क्षति भएको छ । विपदको यस दुःखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधिउपचार गर्न र घरबारविहीनहरूको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं । 
२.    शुक्रबार र शनिबार प्रतिकूल मौसमका बाबजूद जनताको जिउज्यानको सुरक्षाका लागि नेपाल सरकारले लिएको आपतकालीन पहल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत खोज, उद्धार र राहतमा खटिने नेकपा (एमाले)का स्थानीय कमिटी र जनसंगठनहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं ।
३.    नेपालीहरूको महान् चाड बडादशैं नजिक आइरहेको छ । चाडपर्वको नजिक ठूलो प्राकृतिक विपत्तीको सामना गर्नुपरेको छ । पुल, सडक भत्किएका छन्, विद्युत लाइन र खानेपानी अवरुद्ध भएका छन् । यो अवस्थालाई मध्यनजर गरी अवरुद्ध सडकहरू खोल्न, मर्मत गर्न, नेपाललाई तिब्बतसँग जोड्ने अरनिको राजमार्गको लार्चाको पुल, वीपी राजमार्गको पुल, मदन भण्डारी राजमार्गको पुलहरू लगायतका देशका विभिन्न भागमा बाढीले बगाएको हुँदा पुलहरू पुनःनिर्माण गर्न, जनजीवनलाई सहज बनाउन नेपाल सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौं । 
४.    यो विपतको घडीमा बाढी पहिरो र डुबानबाट प्रभावित भएका प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीहरूले निर्धारित कार्यक्रमहरू स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशित गरिन्छ । 
५.    बाढी र पहिरो र डुबानले जसरी जनजीविकाको क्षति गरेको छ, त्यसैगरी नेकपा (एमाले)को ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालय डुबानमा परी निकै ठूलो क्षति पुर्याएको छ । कार्यालय समेत सञ्चालनमा ल्याउन अप्ठ्यारो परिरहेको, पार्टीको विपत् व्यवस्थापन विभाग र केन्द्रीय कार्यालयको संयोजनमा पार्टीको स्वयंसेवक परिचालन गरी कार्यालय भवन र परिसरको सफाई गर्ने कार्य तदारुकताका साथ गरिनेछ ।