detail-img

मधेस प्रदेशमा जनप्रतिनिधिहरूको समीक्षा बैठक 

१२ असोज (२०८१), काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेश कमिटीको आयोजनामा स्थानीय तहमा जनप्रतिनिधिको प्रशिक्षण तथा समीक्षा बैठक महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ । 
नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा शुरू भएको दुईदिने बैठकमा स्थानीय तहमा पार्टीबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, पालिका अध्यक्ष र उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।  
बैठकको उद्घाटनसत्रमा बोल्नुहुँदै सचिव तथा स्थानीय विकास विभाग प्रमुख विश्वकर्माले पार्टीको मिसन–२०८४ सफल बनाउने आधार स्तम्भ जनप्रतिनिधिहरू भएकाले सबै आ–आफ्नो ठाउँबाट इमानदारीपूर्वक लाग्न आग्रह गर्नुभयो ।  
सचिव विश्वकर्माले मधेस प्रदेशमा नेकपा (एमाले)ले नेतृत्व गरेका पालिकाहरूको काम अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको भन्दा भिन्न र जनताले सम्झन लायक हुनुपर्छ भन्दै सकारात्मक सोचका साथ जनताको सुख दुःखको साथी बन्न जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो । 
नेकपा (एमाले) मधेस प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डलको अध्यक्षतामा भएको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, मधेस प्रदेशका आठै जिल्लाका इन्चार्ज, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैठकमा पालिका प्रमुखहरूले आ–आफ्ना पालिकाको कामको रिपोर्टिङ गर्नुभएको थियो । बैठकको सञ्चालन प्रदेश सचिव मनोज पौडेलले गर्नुभएको थियो ।