detail-img

नेपाललाई ‘ननकरप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह 

निजामती सेवा दिवस

भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारेसरह 
२२ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरूपमा सेवा दिँदै नेपाललाई ‘ननकरप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।
एक्काइसौं निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारेसरह हुने भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गर्नुभयो । 
‘तपाईंहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस् । तपाईंहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– म चुनौती दिएर भन्छु, म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिइन्नँ । नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।
राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीहरूको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाउनुभयो । 
उहाँले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र हरेक क्षेत्रको गुनासो सुन्न तत्पर रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हड्ताल गर्ने जस्ता काम उचित नहुने बताउनुभयो । 
उहाँले भन्नुभयो– अहिले नियोजित र प्रायोजितरूपमा अराजकता सिर्जना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ । सरकारको विरोध गर्नु भनेको केही नगरीकन प्राप्त हुने बहादुरी जस्तो भएको छ । वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन ।
प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूले एकैपटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताउनुभयो ।