detail-img

नेपालले एसियाको आँखाबाट समृद्धिको सपना देख्न थाल्नुपर्छः महासचिव पोखरेल 

३० भदौ (२०८१) काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको सम्बन्ध परापूर्व कालदेखि भारतसँग मात्र नभएर चीनसँग पनि त्यतिकै रहेको बताउनुभएको छ ।  
महासचिव पोखरेलले नेपालको धार्मिक, व्यापारिक र राजनीतिक सम्बन्ध उत्तरी मुलुक चीनसँग पनि परापूर्व कालदेखि नै रहेको बताउनुभएको छ । 
आइतबार पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शर्माका पुस्तकले पनि सो कुरालाई उजागर गरेको बताउनुभयो । 
त्यसबेला चीनको तिब्बतसँग र नेपालको तिब्बतसँगको सम्बन्ध उस्तै उस्तै रहेको बताउँदै नेपालको भोटसँगको नाता त्यति गहिरो छ भन्ने कुरा तथ्यले पुष्टि गरेको महासचिव पोखरेलको भनाइ छ । 
एसिया कुनै समय विश्व सभ्यताको केन्द्र रहेको र कृषि मानव समाजको मुख्य पेसा हुँदासम्म ज्ञान, धर्म र सभ्यताको केन्द्र एसिया नै रहेको उहाँले बताउनुभयो । औद्योगिक क्रान्ति पछाडि युरो अगाडि बढेको उहाँको भनाइ छ ।  
दुईवटा ठुला विश्वयुद्धपछि अमेरिका युरोलाई उछिनेर समृद्धिमा अघि बढेको र त्यो सफलता विश्व युद्ध र तेलको व्यापारबाट भएको महासचिव पोखरेलले बताउनुभयो । 
अब ग्रिन इनर्जीको युग आएको एसिया फेरि अघि बढ्ने आधार तयार भएको उहाँको धारणा छ । अब एसियाको विकासको सम्भावनाका बारेमा विमर्श गर्नुपर्ने बेला भएको महासचिव पोखरेलले बताउनुभयो । 
उहाँले भन्नुभयो– बदलिएको विश्व सन्दर्भमा, एसियाको विकासको सम्भावना बारेमा अब हामीले विमर्श गर्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्दछ, नयाँ विश्व व्यवस्थाका सर्जकको रूपमा हाम्रा दुई छिमेकीहरू चीन र भारत अगाडि आउन खोजिरहेका छन्, चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ । 
नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्न थाल्नुपर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– हामीले पश्चिमको आँखाबाट होइन, एसियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्न थाल्नुपर्दछ, योजना बनाउन थाल्नुपर्दछ भन्नुभयो । 
एसियालाई भविष्यको मानव सभ्यताको विकास गर्ने क्षेत्रको आधार क्षेत्र बनाउन सकिने विश्वास व्यक्त गर्दै अब त्यो दृष्टिकोणबाट अघि बढ्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।