detail-img

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रण गर्दै जनसङ्गठन सुदृढीकरण कार्यशाला सम्पन्न 

३० भदौ (२०८१)काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन सुदृढीकरण कार्यशाला २०८४ सालमा हुने निर्वाचनमार्फत् पार्टीलाई एकल बहुमत प्राप्त निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रण गर्दै सम्पन्न भएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना, सङ्गठन विभागको संलग्नता र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा हिजो र आज (भदौ २९ र ३० गते) बुढानीलकण्ठमा आयोजित कार्यशालाले मुलुकको अग्रगति, विकास र सुशासनका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको ठहर गरेको छ । 
पार्टीको केन्द्रीय सङ्गठन विभागका सदस्यहरू, २३ वटै जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, महासचिव र महिला विभाग प्रमुखहरू, सात वटै प्रदेश र ७७ वटै जिल्ला जनसङ्गठन समन्वय संयन्त्रका प्रमुखहरूको ‘स्थानीय तहमा जनसङ्गठन सदृढीकरण कार्यशाला’ले नेकपा (एमाले)द्वारा अघि सारिएको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पप्रति पूर्ण ऐक्यबद्धता जाहेर गरेको छ । 
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कार्यशालाको महासचिव शंकर पोखरेलले समापन गर्नुभएको थियो । कार्यशालामा अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडल र महासचिव शंकर पोखरेलले पार्टीको मिसन–२०८४ सफल पार्न अहिलेदेखि नै अनुशासित, एकताबद्ध र योजना बनाएर क्रियाशील हुन दिशानिर्देश गर्नुभएको थियो । 
कार्यशालामा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले कार्यशालामा छलफलका लागि आधारपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले जनसङ्गठनहरूलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामका सन्दर्भमा विभिन्न प्रश्नहरू आधारपत्रमा उठान गर्नुभएको थियो । 
कार्यशालाले निम्न लिखित समसामयिक प्रस्तावहरूसहितको बुढानिलकण्ठ घोषणा–पत्र जारी गरेको छः
१. समसामयिक प्रस्तावहरू 
- मुलुकका दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहमतिका आधारमा नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा बलियो सरकार निर्माण भएको छ । २०७९ मा सम्पन्न निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुनुको साटो निरन्तर राजनीतिक अस्थिरता, प्रतिनिधिसभाको संरचनाका कारण सानो सङ्ख्याको निरन्तरको बार्गेनिङ, मुलुकमा व्याप्त निराशा, सरकारको अप्रभावकारिता र यी कारणहरूले जनतामा व्याप्त निराशा चिर्न दुई प्रमुख शक्तिबीचको सहकार्यले सकारात्मक वातावरण सिर्जना गरेको छ । हाम्रो पार्टीका अध्यक्षले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नासाथ जनस्तरबाट स्वतःस्फूर्त रूपमा प्रकट भएको आशा र विश्वासका सकारात्मक प्रभावहरू अर्थतन्त्रमा देखापरेका छन् भने त्यसका बहुआयामिक प्रभावहरू विकास निर्माण, राज्य संयन्त्र परिचालन, कर्मचारीतन्त्रको प्रभावकारिता, व्यावसायिक क्षेत्रको मनोबल, विकास साझेदारहरूको सकारात्मक प्रतिक्रिया जस्ता विषयमा क्रमशः प्रकट भइरहेका छन् । यो कार्यशाला, अध्यक्ष कमरेड केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा व्याप्त समस्याहरूको समाधान गरी मुलुक निर्माणको राष्ट्रिय मनोविज्ञान निर्माण गर्ने छ भन्नेमा विश्वास गर्दछ । साथै, जनसङ्गठनहरूका तर्फबाट सरकारका हर कदममा पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछ । 
-    मुलुकमा अस्थिरता व्याप्त हुँदा धमिलो पानीमा माछा मार्न बानी परेका तत्वहरू बलियो र प्रभावकारी सरकार बनेपछि छट्पटिएका छन् । कसरी राजनीतिक अस्थिरता सिर्जना गर्न सकिन्छ र त्यसबाट लाभ लिन सकिन्छ भनेर सक्रिय रहेका त्यस्ता तत्वहरूले संविधान, परिवर्तन, जनताको विकासका आकाङ्क्षा र स्थिरतालाई उल्टाउने दुष्प्रयत्न गरिरहेका छन् । संविधान र व्यवस्था विरोधी त्यस्ता हर्कतहरूको निन्दा गर्दै यो कार्यशाला राजनीतिक स्थिरता, परिवर्तन र सुशासनको यात्रामा सरकारलाई पूर्णरूपमा साथ, समर्थन र सहयोग गर्न सबैलाई अपिल गर्दछ ।
२. सङ्गठनात्मक प्रस्ताव
-    मुलुकको अग्रगति, विकास र सुशासनका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य छ । यो कार्यशाला, हाम्रो पार्टी नेकपा (एमाले) द्वारा अघि सारिएको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दै २०८४ सालमा हुने निर्वाचनमार्फत् नेकपा (एमाले) लाई एकल बहुमत प्राप्त निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रण गर्दछ । त्यसका लागि आफ्ना मातहतका सबै कमिटी र सदस्यहरूलाई आजैदेखि योजना निर्माण, जनपरिचालन र कार्यान्वयनमा केन्द्रित हुन निर्देश गर्दछ ।
-    जनसङ्गठनहरू पार्टीका नर्सरीका रूपमा स्थापित सङ्गठनहरू हुन् भन्नेमा दुविधा छैन । पार्टीमा नयाँ सदस्यहरू निर्माण गर्न जनसङ्गठनहरूको मुख्य भूमिका रहन्छ । नयाँ मानिसहरूलाई सम्पर्क गर्ने, उनीहरूलाई सङ्गठनमा आबद्ध गर्ने, पार्टीका बारेमा बुझाउने र पार्टी सदस्य बनाउने प्रक्रिया नै जनसङ्गठनहरूले पार्टी निर्माणमा गर्ने ठोस योगदान हो । केही समययता यी कामहरू प्रभावकारी रूपमा भइरहेको महसुस हुन सकेको छैन । यसर्थ, यो कार्यशाला २३ वटै जनसङ्गठनहरूको मूल ध्यान नयाँ सदस्यता विस्तार र तिनलाई सङ्गठित गर्ने काममा केन्द्रित गर्ने प्रद्धिबद्धता व्यक्त गर्दछ । 
-    पार्टीको दशौं राष्ट्रिय महाधिवेशनपछि हाम्रा २३ वटै जनसङ्गठनहरूका राष्ट्रिय महाधिवेशनहरू सम्पन्न भएका छन् । प्रदेश र जिल्ला स्तरका पनि अधिकांश अधिवेशन÷सम्मेलनहरू सम्पन्न भएका छन् । बाँकी रहेका अधिवेशन÷सम्मेलनहरू अविलम्ब सम्पन्न गर्ने प्रतिबद्धता प्रकट गर्दै यो कार्यशाला कमिटी प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रण गर्दछ । 
-    जनसङ्गठनहरूको केन्द्रीय स्तरमा महाधिवेशन÷अधिवेशन÷सम्मेलनहरू हुने क्रम आरम्भ हुन थालेको छ । यसै बर्षदेखि क्रमशः महाधिवेशनहरूको दोस्रो चरण सुरु हुन लागिरहेको तथ्यलाई ध्यानमा राखेर मातहतका सबै अभिलेखहरू दुरुस्त गर्ने, महाधिवेशनलाई प्रभावकारी बनाउन प्रतिनिधि छनोटलाई जनवादी, पारदर्शी र सहभागितामूलक बनाउने र महाधिवेशनहरूलाई जनवादी केन्द्रीयताको अभ्यासमा पूर्ण रूपमा कमरेड्ली भावनाका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
-    जनसङ्गठनहरूमा सदस्यता वितरण तल्ला कमिटीहरूले गर्ने भएकाले हाम्रा सङ्गठनहरूका जग भनेकै तलका कमिटीहरू हुन् । यही आवश्यकता महसुस गरेर पार्टीले अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, राष्ट्रिय युवा संघ र नेपाल ट्रेड युनियन महासंघको संगठनलाई वडा र टोलसम्म विस्तार गर्न निर्देशन दिएको छ । यस कुरालाई ध्यानमा राख्दै अरु जनसङ्गठनहरूले पनि अनिवार्य रूपमा पालिका तहसम्म कमिटीहरू निर्माण गर्ने कुरालाई कार्यान्वयन गर्न यो कार्याशाला प्रण गर्दछ ।
-    जनसङ्गठनहरूलाई प्रभावकारी बनाउन धुलिखेल भेलाबाट पारित प्रस्ताव बमोजिम पार्टीले केही महत्वपूर्ण व्यवस्थाहरू कार्यान्वयन गर्न अन्तरपार्टी निर्देशन नै जारी गरेको छ । आफ्नो क्षेत्रमा जनसङ्गठन र तिनका नेताहरूलाई स्थापित गर्न जनसङ्गठनका कार्यक्रममा जनसङ्गठनका नेताहरू नै प्रमुख अतिथि हुने र पार्टीका नेताहरू वक्ता÷प्रमुख वक्ताका रूपमा सहभागी हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । यसर्थ, यो कार्यशाला जनसङ्गठनको प्रभावकारिताका लागि उक्त प्रावधानलाई तल्ला तहसम्मै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
-  जनसङ्गठनहरू समाजमा आफ्ना वर्ग, समुदाय र क्षेत्रका मागहरूलाई गहिरो गरी उठाउने र तिनलाई निष्कर्षमा पुर्याउने माध्यम हुन् । यही भएर पार्टीले समाजका सबै क्षेत्रलाई समेट्ने गरी २३ वटा जनसङ्गठनहरू निर्माण गरेको छ । हाम्रा जनसङ्गठनहरूले आफ्ना समुदायले भोगिरहेका समस्यालाई प्रभावकारी रूपमा उठाउने, तिनलाई स्थापित गराउने र नेता सङ्गठनका रूपमा स्थापित हुने प्रयत्न प्रभावकारी रूपमा गर्नुपर्छ । यसर्थ, यो कार्यशाला, सबै जनसङ्गठनहरू आ–आफ्ना वर्गीय, सामुदायिक र पेशागत मुद्दामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यकता पर्दा एक–अर्का सङ्गठनसँग सहयोग आदान–प्रदान गर्ने र संयुक्त रूपमा अघि बढ्ने प्रण गर्दछ ।
-    हाम्रा सङ्गठनहरू व्यवस्थित रूपमा चल्न सकेका छैनन् । एकातिर कमिटी प्रणालीलाई प्रभावकारी बनाउने र अर्कातिर कार्यालयीय कामलाई पनि व्यवस्थित बनाउनुपर्ने छ । आफ्ना कमिटीका अभिलेखहरू दुरुस्त राख्ने, रिपोर्टिङ प्रणालीलाई व्यवस्थित गर्ने, सदस्यता अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो कार्याशाला प्रदेश तथा जिल्ला तहका जनसङ्गठन समन्वय संयन्त्रहरूलाई यसका लागि प्रभावकारी रूपमा परिचालन हुन निर्देश गर्दछ । 
धन्यवाद प्रस्ताव
-    जनसङ्गठनका क्षेत्रमा केन्द्रदेखि जिल्ला तहसम्म कार्यरत देशभरका अगुवा नेता÷कार्यकर्ताहरूलाई उत्साहित पार्न आफ्नो व्यस्त समय व्यवस्थापन गरी हाम्रो कार्यक्रम उद्घाटन र महत्वपूर्ण दिशानिर्देशका लागि उपस्थित भइदिनुभएकोमा यो भेला प्रधानमन्त्री तथा श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीप्रति आभार प्रकट गर्दछ । साथै, महत्वपूर्ण सम्बोधनका लागि पार्टी उपाध्यक्ष तथा  उपप्रधानमन्त्री तथा अर्थमन्त्री कमरेड विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोखरेल र संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य कमरेड काशीनाथ अधिकारीप्रति यो कार्याशाला हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ । 
-    यो कार्यशाला सम्पन्न गर्नका लागि व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउनुहुने नेपाल उद्योग व्यवसाय महासंघका अध्यक्ष कमरेड भागिरथ सापकोटासहित होटल लेमन ट्री परिवारलाई यो कार्यशाला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।