detail-img

हामीविरूद्ध भयानक घेराबन्दी छः प्रधानमन्त्री ओली

२९ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले पनि परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरू लागिरहेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो– अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध भयानक घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरू बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन । पदधारी होइन, आशाधारीहरू कराइरहेका छन् । जानी नजानी एक खालका मानिसहरूबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरूलाई काम र मेहनत गर्नुपर्दैन, भएको राम्रो कामको निन्दा र उल्टो प्रचार गरे पुग्छ ।
आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरूपमा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गर्नुभयो ।
अध्यक्ष ओलीले सङ्गठनको आयतनसँगै घनत्व पनि बढ्नुपर्ने बताउँदै अहिले हाम्रो सङ्गठनभित्र सिथिलता, उदासिनता र जिम्मेवारीबोधको कमी र अलिकति इलुजन देखिएको छ भन्नुभयो । 
उहाँले आन्दोलनकारी प्रवृत्ति अत्यन्त घट्दो रहेको हुँदा त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘नलडी कोही हुन्न विजेता’ स्मरण गराउँदै विजयी हुन भ्रमविरूद्ध लड्नुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले मिसन–२०८४ एमालेका लागि निर्णायक विन्दु भएकाले पार्टीका सबै सदस्यहरू पार्टीका कार्यकर्ताहरू हौं भन्ने कुरालाई मनन गरी कर्मी मौरीका रूपमा क्रियाशील हुन आग्रह गर्नुभयो । २०८४ को निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बलिया आधार रहेको बताउँदै त्यसका लागि अहिलेदेखि नै पार्टीका नेताकार्यकर्ताले सारा सामर्थ्य लगाएर काम गर्दै जानुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनसङ्गठन, जनबर्गीय सङ्गठन र सामुदायिक सङ्गठन पार्टीको जनाधार विस्तारका माध्यम भएको भन्नुहुँदै यिनलाई पार्टीमा कार्यकर्ता आपूर्तिको फराकिलो फोरमका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । 
उपाध्यक्ष पौडेलले पार्टी सरकारमा रहेकाले अहिले पार्टीको जनाधार विस्तार र सुदृढीकरणका लागि अनुकूल समय रहेकोतर्फ ध्यानाकर्षण गराउँदै जनसङ्गठनका कमिटीहरू पालिका, वडा र टोलसम्म विस्तार योजना बनाउनुपर्ने बताउनुभयो । 
उहाँले जनसङ्गठनहरूले आफ्नो सदस्य सङ्ख्याको जुन आँकडा दिने गरेका छन्, त्यसको व्यवस्थित अभिलेख छ जस्तो लाग्दैन भन्नुहुँदै सदस्यहरूको सूचि तयार  गर्न र सदस्यता वितरणको कामलाई घर घर र व्यक्ति व्यक्तिसम्म पुर्याउन  आग्रह गर्नुभयो । 
उपाध्यक्ष पौडेलले पार्टीका हरेक जनसङ्गठनले आफू सम्बन्धित बर्ग र समुदायको वास्तविक प्रतिनिधि हुन सके नसकेको सोच्न जरूरी रहेको बताउनुभयो । 
पार्टीका जनसङ्गठनहरूको भूमिका पार्टी सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा केही फरक हुनेतर्फ ध्यानाकर्षण गराउँदै पार्टी सरकारमा हुँदा भएका महत्वपूर्ण कामको जस लिने काममा जनसङगठनहरूको ध्यान नपुग्दा अर्कैले फाइदा लिने, भ्रम सिर्जना गर्ने काम गरिरहेको बताउनुभयो । 
कार्यक्रमको अध्यक्षता गर्नुहुँदै पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले कार्यशालाले स्थानीय तहमा जनसङ्गठनहरू परिचालनमा भएको समस्या, जनसङ्गठनको क्रियाशीलताका लागि पार्टी कमिटी जिम्मेवार बन्नुपर्ने लगायत विषयहरूलाई सङ्क्षिप्तमा राख्नुहुँदै कार्याशालाले जनसङ्गठन र पार्टीबीचको अन्तरविरोधको समाधान निकाल्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले कार्यशालामा छलफलका लागि ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरणः राष्ट्रिय कार्यशाला, छलफलका केही सन्दर्भहरू’ आधारपत्र प्रस्तुत गर्नुभएको थियो । 
पार्टीका केन्द्रीय सदस्य रचना खड्काले सञ्चालन गर्नुभएको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्नुहुँदै पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्मनाथ अधिकारीले पार्टीले अगाडि सारेका दुई मिसन पुरा गर्न पार्टीसँग जनसङ्गठनको सम्बन्ध सुमधुर हुन जरूरी छ भन्नुभयो । 
कार्यशालामा पार्टीको केन्द्रीय सङ्गठन विभाग सदस्यका रूपमा र जनसङ्गठनको इन्चार्ज रहनुभएका पार्टीका स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, सीता पौडेल, थममाया थापा, राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसङ्गठनका अध्यक्ष, महासचिव र महिला विभाग प्रमुख, जनसङ्गठनका प्रदेश तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ । कार्यशाला भोलिसम्म चल्ने छ ।