detail-img

राजनीति गर्ने मानिस सबैभन्दा जान्ने हुनुपर्छः उपाध्यक्ष पाण्डे

१९ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेता हुनलाई हरेक विषयमा अध्ययन हुनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) रामेछापले आज मन्थलीमा आयोजना गरेको जनप्रतिनिधिहरूको जिल्लास्तरीय समीक्षा बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले अध्ययन नगर्ने मानिस नेता बन्न नसक्ने बताउनुभयो । ‘अध्ययन बेगर नेता हुन सकिँदै, लेबल थोरै होला केही न केही पढ्ने बानी बसाल्नुस्’, उहाँले भन्नुभयो । 
मिस इन्फर्मेसन र डिस इन्फर्मेसनबाट जोगिन पनि अध्ययन गर्नुपर्ने बताउनुभयो । अब नजान्ने मानिसहरू कुनै पनि ठाउँमा टिक्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । 
उहाँले अब पुराना र परम्परागत कुरा गरेर नहुने बताउनुभयो । नेता बन्ने मानिसहरू समय अनुसार चल्न सक्नुपर्नेमा उहाँको जोड छ । ‘राजनीति गर्ने मानिस सबैभन्दा जान्ने हुनुपर्छ’, उपाध्यक्ष पाण्डेले भन्नुभयो । 
पार्टीका नेता कार्यकर्ताका बीचमा राम्रो व्यवहार हुनुपर्ने बताउँदै समाजको आधारभूत मर्यादाको पनि ख्याल गर्नेहरू नेता नबन्ने उहाँले बताउनुभयो । 
देशमा नागरिकको सङ्ख्या घट्दै गएको र यो देशका लागि गम्भीर चुनौती बन्दै गएको उपाध्यक्ष पाण्डेले बताउनुभयो । सन्तान उत्पादन गर्ने उमेरका युवकयुवतीहरू विदेशमा रहँदा देशको जनसङ्ख्या घट्दो क्रममा रहेको उहाँको भनाइ छ । ठुलो सङ्ख्यामा नेपाली विदेश बसाइँ सर्ने क्रम सुरु भएकाले यसको प्रभाव नेपालको अर्थतन्त्र र सामाजिक क्षेत्रमा पर्ने उहाँको धारणा छ । 
अब परम्परागत र पुरानै ढाँचाले काम गरेर देश नचल्ने उहाँले बताउनुभयो । अब हरेक विषयमा नयाँ सिराबाट सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले माक्र्सवादलाई सूत्रमा पढ्ने होइन, गतिशीलतामा हेर्नुपर्ने बताउनुभयो । 
हरेक चिज परिवर्तनशील गतिमा रहेकाले त्यसलाई कसैले रोक्न नसक्ने बताउँदै उपाध्यक्ष पाण्डेले नेकपा (एमाले) गतिमा चल्ने पार्टी भएको स्पष्ट पार्नुभयो । यसो गर्न सकियो भने एमालेलाई कसैले चुनौती नदिन उहाँले बताउनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेलले जनप्रतिनिधि पार्टीप्रति उत्तरदायी हुनुपर्ने बताउँदै जनप्रतिनिधिले पार्टी नै नचिन्ने स्थिति बनेको बताउनुभयो । 
बैठकमा नेकपा (एमाले) बाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, बाग्मती प्रदेश सभा कमिटी सदस्य एवं बाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले बोल्नु भएको थियो ।  यसैगरी मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगायतका नगरपालिका तथा गाउँपालिका प्रमुखहरूले स्थानीय तहमा गरिरहेका काम, उपलब्धि र चुनौतीको बारेमा प्रकाश पार्नुभएको थियो ।