detail-img

पार्टीभित्र कुनै पूर्व समूह छैनन्, सबै वर्तमान एमालेको भर्भराउँदो पङ्तीः अध्यक्ष ओली

२३ पुस (२०८१), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेंको भरभराउँदो पङ्ति भएको बताउनुभएको छ ।
नेकपा (एमाले)को केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्व समूहहरू खोज्नतिर नलाग्न आग्रह गर्नुभएको हो । 
‘एमालेमा अब कुनै पनि पूर्व समूह छैन । हामीले पूर्व समूह खोज्नतिर होइन, वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ’, अध्यक्ष ओलीले भन्नुभयो– हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।
अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरू लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता स्वीकार्य नहुने स्पष्ट गर्नुभयो । 
उहाँले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र काँग्रेससहितको  वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरू सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरू चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गर्नुभयो । 
प्रधानमन्त्री ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक सम्बन्धको नीतिमा  सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताउनुभयो । 
उहाँले नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गर्नुभयो । 
यही पुस २१ गतेदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ ।