१५ पुस (२०८१), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
नेकपा (एमाले) दाङ जिल्ला कमिटी, प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्य समितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रममा महासचिव पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभयो ।
‘संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ’, महासचिव पोखरेलले भन्नुभयो– संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ । परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन ।
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानून सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले जानकारी गराउनुभयो ।
सरकारमा सहभागी दुई प्रमुख दल कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताउँदै उहाँले निरासा चिर्दै समृद्ध मुलुक निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको छ । पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ । लगानीको वातावरण निर्माण गरिरहेको छ ।
अस्थिरतामा भविष्य देख्नेहरूले अहिले पनि अस्थिरताको हौवा पिटिरहेको तर दुई दल सबै खालका चुनौतीको सामना गर्नेगरी गतिलो गृहकार्य गरेर अघि बढिरहेका र सङ्कट समाधान गर्न सरकार संवेदनशील रहेको उहाँले बताउनुभयो ।
यस्तै महासचिव पोखरेलले संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– संस्थागत पत्रकारिता कमजोर हुँदा अराजकता र स्वच्छन्दतावाद हावी भयो । तथ्यहीन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । संस्थागत पत्रकारितालाई बलियो बनाउनेगरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाउने बित्तिकै पत्रकार भन्ने गलत अभ्यास चलेको छ । यो राम्रो होइन ।
दाङको विकास निर्माणले गति लिएको भन्दै महासचिव पोखरेलले भन्नुभयो– नेपालको आफ्नै स्रोतबाट फोरलेन सडक विस्तारको काम सुनिश्चित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबै हिसाबले उत्कृष्ट बनाउन भूमिका बढेको छ । चारसय बेडको नयाँ अस्पताल बनाउने योजना अघि बढेको छ । तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई बिस्तार गर्ने काम अघि बढेको छ । लमही–घोराही सडक निर्माणका लागि ठेक्का लागेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति बिसङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासंघ लागिपर्ने बताउनुभयो । सदस्यता शुद्धिकरणका नाममा महासंघको संस्थागत संरचना कमजोर भएको भन्दै सचिव प्रियासनले सबै समस्या समाधान गर्नका लागि महासंघ नेतृत्वले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयोे ।
नेकपा (एमाले) दाङ जिल्ला कमिटी, प्रचार तथा प्रकाशन विभाग प्रमुख संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय, प्रदेश, जिल्लाका पदाधिकारी, कार्यसमिति, राष्ट्रिय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यहरूलाई सम्मान गरिएको थियो ।