detail-img

राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छः प्रधानमन्त्री

६ कात्तिक(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ ।
नेकपा (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार ( कात्तिक ४ गते) प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समयतालिका तोकेर राहत र पुनःस्थापनाका काम प्रभावकारीरूपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराउनुभयो । 
उहाँले सरकारका सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्याउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कासाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । 
नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई सङ्कटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौं सङ्ख्यामा पशु चौपायाहरूमा समेत क्षति भएकाले पुनःनिर्माण र पुनः स्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गर्न अनुरोध गर्र्नुभएको थियो । 
सो अवसरमा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमालेका बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, पूर्व सांसद गणेश पहाडीलगायत सहभागी हुनुहुन्थ्यो ।