detail-img

एमालेलाई कमजोर बनाउन चाहनेहरू जग्गा दानको विषयमा गलत प्रचार गर्दैः महासचिव पोखरेल

१ कात्तिक(२०८१), नेपालगञ्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गर्नुभएको छ । 
बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको बताउनुभयो । व्यवसायी गुरुङले दान गर्नुभएको जग्गा एमालेले स्वीकार गरेको उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौं । 
जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताउनुभयो । एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको उहाँको भनाइ छ ।
एमालेमाथि विगतदेखि नै घेराबन्दी र आक्रमण भएको बताउँदै महासचिव पोखरेलले अहिले पनि एमालेमाथि आक्रमण सुरु भएको बताउनुभयो । उहाँले पार्टीको नीति र नेतृत्वप्रति विश्वास गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– हाम्रो पार्टीको केन्द्रीय कार्यालय निर्माणको सन्दर्भमा एकजना व्यवसायीले गरेको सहयोगलाई आधार बनाएर पार्टीमाथि आक्रमण गर्ने प्रयास भएको छ । 
उहाँले नेपाली कांग्रेसले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको स्मरण गराउनुभयो । त्यस्तै राप्रपाका घर पनि दाताले दिएका भए पनि त्यसको कुनै चर्चा हुने नगरेको उहाँले बताउनुभयो । 
पार्टी समाजको संस्था भएकाले पार्टीलाई समाजभन्दा बाहिर राख्न नहुने बताउँदै महासचिव पोखरेलले राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने उहाँको जिकिर छ । ‘पार्टीप्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिने हो’, उहाँले भन्नुभयो । 
एमालेका पार्टी सदस्यले दिएको सहयोग पनि पार्टी कार्यालयकै काममा खर्च हुने उहाँले बताउनुभयो । पार्टी कार्यकर्ताले गरेको सहयोग र दाताले दिएको सहयोग समेत जोडेर एमालेको सुविधा सम्पन्न अत्याधुनिक पार्टी कार्यालय बन्ने महासचिव पोखरेलको भनाइ छ । 
मिसन–२०८४ पार्टीको सर्वाधिक महत्वको विषय भएको उहाँले बताउनुभयो । राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यको लागि आउने निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
देश बन्नको लागि नीतिगत नेतृत्वको खाँचो पर्ने उहाँले बताउनुभयो । दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व भएको अवस्थामा देश निर्माणको यात्रा सफल हुने उहाँको भनाइ छ । नेकपा (एमाले) मुलुकलाई यो सामथ्र्यतर्फ अघि बढाउने कुरामा स्पष्ट रहेको उहाँले बताउनुभयो । 
पार्टीमा युवालाई जोड्नुपर्ने भन्दै महासचिव पोखरेलले युवासँगको कामलाई पार्टीको प्राथमिकताको काममा राख्नुपर्ने बताउनुभयो । त्यस्तै महिलाबीचमा पार्टीको कामलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
महासचिव पोखरेलले अहिलेको सरकार उच्च समझदारीमा बनेको सरकार भएको बताउँदै एमाले र कांग्रेसको उच्च नेतृत्वमा समझदारी हुँदासम्म सरकारमा कुनै समस्या नआउने बताउनुभयो । एउटा निश्चित उद्देश्यको लागि वर्तमान सरकार बनेकाले कसैले चाहँदैमा सरकारमा समस्या नआउने उहाँको धारणा छ ।