पार्टीका सबै विभागहरूसँग सुझाव माग
३ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको कामलाई चुस्त दुरुस्त बनाउन र सेवा प्रवाहमा सहजीकरण गर्न के कस्ता उपायहरू अवलम्वन गर्न जरुरी छ भन्ने विषयमा सुझाव दिन पार्टीका केन्द्रीय विभागहरूलाई निर्देशन दिनुभएको छ ।
महासचिव पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टीका केन्द्रीय विभागका प्रमुखहरू तथा सचिवहरूको संयुक्त बैठकमा उक्त निर्देशन दिनुभएको हो ।
दुई प्रमुख दलको सहमतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारबाट अर्थतन्त्रमा सुधार, वैदेशिक लगानीको विश्वसनीय वातावरण निर्माण, पुँजीगत खर्च उल्लेख्य मात्रामा बृद्धि भएको, महत्वपूर्ण कानुन निर्माणमा सहमति र जनतालाई सेवा सुविधा उपलब्ध गराउने लगायत महत्वपूर्ण काम भएको बताउँदै सरकारलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन दुई पार्टीको संयन्त्रमा छलफल चलिरहेको उहाँले जानकारी गराउनुभयो ।
महासचिव पोखरेलले राज्यबाट जनतामा हुने सेवा प्रवाहलाई रोक्ने प्रयन्त स्वरुप अस्थिरता चाहनेहरूले अहिले सरकारविरूद्ध अफवाह फैलाइरहेको बताउनुभयो ।
देशको अर्थतन्त्र चरम सङ्कटमा गएको बेला वर्तमान सरकार गठन भएको उल्लेख गर्दै महासचिव पोखरेलले अघिल्लो सरकारले निर्माण क्षेत्रको भुक्तानीको ठुुलो दायित्व बाँकी राखेको तर बजेटमा व्यवस्था नगरेका कारण अहिले जटिल अवस्थालाई सम्हाल्नु परिरहेको र समस्या समाधानका उपायबारे छलफल भइरहेको जानकारी गराउनुभयो ।
उहाँले पार्टीलाई नीतिगत सुझाव दिने महत्वपूर्ण निकायका रूपमा केन्द्रीय विभागहरू रहेकाले संसदमा रहेका विधेयकहरू पारित गर्ने सन्दर्भमा छलफल, सुझाव र सहजीकरणका लागि ध्यानाकर्षण पनि गर्नुभयो ।
महासचिव पोखरेलले नेकपा (एमाले) र प्रधानमन्त्री तथा पार्टीका अध्यक्षमाथि भइरहेको सबै खालको आक्रमण नेकपा (एमाले)लाई कमजोर बनाउँदा नेपालको राजनीति अस्थिर बनाउन सकिन्छ र त्यसमा आफ्नो स्वार्थ पूरा गर्न पाइन्छ भन्नेहरूबाट नियोजित प्रोपोगण्डा अन्तर्गत भइरहेको बताउनुभयो ।
नेकपा (एमाले)ले पार्टी जीवनमा विभाजन लगायत सबै खालका चुनौती पार गरेर अहिलेको (लोकप्रिय मतमा पहिलो) अवस्थामा आएको उल्लेख गर्दै उहाँले पछिल्ला आक्रमणहरूलाई पनि पार्टीले परास्त गर्ने विश्वास व्यक्त गर्नुभयो । महासचिव पोखरेलले सिङ्गो पार्टीपङ्तीबाट पार्टी र नेतृत्वविरूद्धका भ्रमपूर्ण हल्ला, आक्रमणको राजनीतिक प्रतिवाद गर्नु आवश्यक हुने कुरामा जोड दिनुभयो । उहाँले पार्टीको आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी विभागहरूलाई बार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षासहितको प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । बैठकमा विभागीय जिम्मेवारीमा रहनुभएका पार्टीका सचिव योगेश भट्टराई, छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरू भीम आचार्य, काशिनाथ अधिकारी, राजेन्द्र गौतम, अग्नि खरेल, कर्ण थापा, पोलिटव्यूरो तथा केन्द्रीय सदस्य र विभागीय सचिवहरूले सङ्क्षेपमा विभागका काम लगायत विषयमा बोल्नुभएको थियो ।