detail-img

नेताकार्यकर्ता ‘सेल्फ सेन्सरसीप’ होइन, आक्रमणविरुद्ध प्रतिरोध गर्ने हुनुपर्छः उपमहासचिव ज्ञवाली

३ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका विभागहरू नीतिगत निर्णय गर्न बनाइएको बताउनुभएको छ । 
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीद्वारा आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै जिम्मेवारीमा बस्ने कमरेडहरूले  विभागहरूलाई नेता कार्यकर्ता थन्क्याउने ठाउँका रूपमा नबुझ्न आग्रह गर्नुभयो ।   
उहाँले  विभाग पार्टीको नीति निर्माण गर्ने महत्वपूर्ण थलो भएको प्रष्ट पार्नु भयो । नेकपा (एमाले) स्कूल विभाग प्रमुख समेत रहनु भएका नेता ज्ञवालीले पार्टी पिरामिड आकारको हुनुपर्नेमा मादल जस्तो भएकाले यदाकदा समस्याहरू देखिएको बताउनुभयो । उहाँले विभागहरूले काम नगर्दा कहिलेकाहीं कार्यकर्ता व्यवस्थापन जस्तो लागे पनि  झट्ट हेर्दा संसदीय समितिको काम जस्तै भइरहेको बताउनुभयो । 
नेकपा (एमाले)को नेतृत्वमा  सरकार बनेपछि आर्थिक लगायत धेरै क्षेत्रमा सकारात्मक प्रभावहरू देखिन थालेको बताउँदै  उहाँले पार्टी गतिविधिले भने अपेक्षाकृत गति नलिएको प्रष्ट पार्नुभयो । अहिले एमाले नेता कार्यकर्ताको सेल्फ सेन्सरसीपले  आम जनमानसमा एमाले कार्यकर्ता निम्छरो बनिरहेको बताउँदै सबैलाई आफ्नै ठाउँबाट पार्टी र नेतृत्वविरुद्ध चौतर्फी  आक्रमणको प्रतिरोध  गर्न अपिल  गर्नुभयो ।
खटाएको ठाउँमा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन
बैठकमा पार्टी स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीले खटाएको ठाउँमा जिम्मवारीपूर्वक काम गर्न सम्पूर्ण नेताहरूलाई निर्देशन दिनुभयो । 
उहाँले  पार्टीले खटाएको जिम्मेवारी पुरा नगर्ने, असन्तुष्टि व्यक्त गर्ने नेताहरूलाई विदाई गरिने बताउनुभयो । नेता भट्टराईले  भूगोलमा जाने वित्तिकै टिकट नपाउने प्रष्ट पार्दै आफूलाई मन नपरेको जिम्मेवारी पूरा गर्नुहोस्, मन नपरेको ठाउँमा जानुहोस् तपाईहरूको मूल्याङ्कन हुने बताउनुभयो । 
पार्टीको बैठकमा  आउने हाजिर गरेर हिड्ने प्रवृत्ति नेताहरूमा बढेको बताउँदै इन्चार्ज भट्टराईले  अनुशासन विना पार्टी,  परिवार र स्वयं व्यक्ति पनि नचल्ने बताउँदै नेकपा (एमाले) बाग्मती कमजोर भयो भने सिङ्गो पार्टी कमजोर हुने कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले एमाले विना देश विकासको गति अवरोध हुने बताउनुभयो ।