detail-img

जनताको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान 

१५ असोज (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ । 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आह्वान गर्नुभएको हो । 
प्रधानमन्त्रीले भन्नुभयो– यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौं । कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरूपमा सबल संरचना बनाइने छ ।
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाउनुभएको छ । 
प्रधानमन्त्रीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया शुरू गरिएको पनि उहाँले बताउनुभयो । 
पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्तिमा विपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ । विपद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।