detail-img

सचिवालयको ३७औं बैठकः सहायता कोषमा ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय 

१५ असोज (२०८१), काठमाडौं । नेकपा (एमाले)ले बाढी र पहिरोबाट प्रभावित भएकाहरूको सहयोगका लागि  प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 
नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३७औं बैठकबाट उक्त निर्णय गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न बैठकले पीडितको राहत र भौतिक संरचनाहरूको पुनर्निर्माणका काममा नागरिक स्तरबाट सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र अबिलम्व पुनर्स्थापना गरी जनजीवन सहज बनाउन नेकपा (एमाले)ले सरकारको ध्यानाकर्षण गराएको छ ।
सचिवालय बैठकले गरेका निर्णय यस प्रकार  छन्ः
१. बाढी पहिरोमा परी निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई बैठकले आग्रह गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधी उपचार गर्न र घरबारविहीनहरूलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
२. नेपालीहरूको महान चाड बडादशैंको पूर्व सन्ध्यामा आएको अविरल वर्षाले देशको राजधानी जोड्ने प्रमुख राजमार्गहरू लगायत विभिन्न ठाउँका सडक सञ्जालहरूमा पुर्याएको क्षतिले आवतजावतमा गम्भीर कठीनाइ उत्पन्न भएको छ । सडक सञ्जालको सम्बन्ध विच्छेदलाई अबिलम्व सूचारु गरी आवतजावतलाई सहज बनाउन सरकारसँग माग गर्दछ । साथै यात्रा गर्दा मौसमलाई ध्यान दिन र सचेत रहेर यात्रा गर्नका लागि सर्वसाधारणलाई अपिल गरेको छ । 
३. मानवीय क्षति, सरकारी र  व्यक्तिगत भौतिक संरचनाको क्षतिको एकीन विवरण संकलन गरी मृतकका परिवार तथा पीडितलाई राहत उपलब्ध गराउन र भौतिक संरचनाको पुनर्निर्माणलाई तिव्रता दिन बैठकले आग्रह गरेको छ । साथै बाढी र पहिरोले किसानहरूको बालीनालीमा पुर्याएको क्षतिको विवरण एकीन गरी क्षतिपूर्ति उपलब्ध गराउन गरिएको छ । 
४. बाढी र पहिरोबाट प्रभावित भएकाहरूको सहयोगका लागि  प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । साथै बैठकले पीडितको राहत र भौतिक संरचनाहरूको पुनर्निर्माणका नागरिक स्तरबाट सहयोग गर्न सबैलाई आग्रह गरेको छ । 
५. बाढी र पहिरोपछि उद्धार, राहत र खोजमा नेपाल सरकार, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाल सरकारका विभिन्न निकाय, संघ–संस्था, पार्टीपङ्क्ति, नागरिक लगायतले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै बैठकले आभार प्रकट गरेको छ ।
६. प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धीमूलक रहेको बैठकले ठहर गरेको छ । यसैगरी संयुक्त राष्ट्रसंघको महासभामा निर्वाह गरेको भूमिकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाएको निष्कर्ष निकालेको छ ।

बाढीले क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय अवलोकन
यसैबीच, आजै प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीले च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभयो । 
अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँ तलामा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण भुइँ तलामा रहेका उपकरण र महत्वपूर्ण सामग्री क्षति भएका छन् ।