detail-img

जनताको जीवनमा परिवर्तन ल्याउन अवसरको खोजी होइन, त्यागको खाँचोः महासचिव पोखरेल

१३ जेठ (२०८१), झापा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन–२०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताउनुभएको छ । 
आज नेकपा (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटनपछि सम्बोधन गर्दै महासचिव पोखरेलले बहुमत ल्याउनका लागि पार्टीका नेताकार्यकर्ताहरूको बीचमा एकता आवश्यक रहेको बताउनुभयो । 
महासचिव पोखरेलले एमालेका सबै नेताकार्यकर्ता ठीक ढङ्गले पार्टी काममा लागियो भने कसैको पनि सहारा नलिई एमालेले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 
राष्ट्र निर्माणका लागि बलियो राजनीतिक शक्ति चाहिएको बताउँदै महासचिव पोखरेलले मिसन–२०८४ बाट एमालेलाई बलियो शक्ति बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । 
नेपाली कांग्रेसले संसदमा अवरोध खडा गरेर सत्ता समीकरण भत्काउन प्रयास गरिरहेको भन्दै उहाँले नयाँ समीकरण मिसन–२०८४ का लागि भएको स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले अब कांग्रेस देशको बलियो राजनीतिक शक्ति बन्न नसक्ने बताउँदै एमालेका नेता कार्यकर्ताहरूलाई पार्टी निर्माणमा निःस्वार्थ लागिपर्न आग्रह गर्नुभयो । 
उहाँले कांग्रेसले देशमा अस्थिरता सिर्जना गर्न संसद्मा अवरोध गरेको भन्दै संसदलाई बन्धक नबनाउन सुझाव दिनुभयो । 
इलाम र बझाङको निर्वाचनले एमालेलाई थप ऊर्जा प्रदान गरेको बताउँदै महासचिव पोखरेलले पार्टी विरुद्धको भ्रम समेत चिरिएको स्पष्ट पार्नुभयोे । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राले एमालेलाई जनतासँग जोड्न मद्दत गरेको उहाँले बताउनुभयो ।  
महासचिव पोखरेलले एमाले नेता कार्यकर्ताहरूलाई सम्मान र अवसरको खोजी गर्दा समृद्धिको काममा अवरोध खडा हुने भन्दै  सम्मान र अवसरको खोजीमा नलाग्न आग्रह गर्नुभयो । 
उहाँले राष्ट्र र जनताको जीवनमा परिवर्तन ल्याउन झापा विद्रोहकै जस्तो त्याग गर्नुपर्ने बताउनुभयो ।  
राजनीतिलाई धर्मसँग जोडेर पूर्वका केही नेताले समाजलाई पछाडि धकेल्न खोजिरहेका बताउँदै महासचिव पोखरेलले मौलिक संस्कृतिको जगलाई कमजोर बनाएर देशमाथि खेलवाड गर्नेहरू विरुद्ध सचेत हुनुपर्ने धारणा राख्नुभयो । 
उहाँले पपुलिजम्को आधारमा राजनीतिमा प्रवेश गर्नेलाई इलामको निर्वाचनबाट जनताले राम्रो सवक सिकाएको बताउनुभयो । महासचिव पोखरेलले कोशी प्रदेशको नामाकरणको औचित्य समाप्त गर्ने खेलका विरुद्ध इलामेली जनता उभिएकोमा धन्यवाद दिनुभयो । 
महासचिव पोखरेलले नगर अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिनुभयो । आपसी एकतालाई कायम गर्न र पार्टीलाई बलियो बनाउन सहमतिबाटै नेतृत्व चयन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।  
विर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका स्थायी कमिटी सदस्य अग्नी खरेल, नेपाली कांग्रेस बिर्तामोडका उपसभापति सूर्य कन्दङवा, रास्वपाका अर्जुन उप्रेती, राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । आजैदेखि बन्दसत्र सञ्चालन हुने नगर सचिव शेखर कडेलले बताउनुभयो ।