detail-img

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

२३ माघ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण तोकिएको समयमा सम्पन्न हुने गरी तिब्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिनुुभएको हो । प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र उक्त रङ्गशालाको स्तरोन्नति गर्ने निर्णय लिनुुभएको थियो । रङ्गशालामा प्यारापिट र ल्फडलाइट निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । 
प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गर्नुभयो ।
बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति प्रधानमन्त्री ओलीले चिन्ता  व्यक्त गर्नुभएको हो । 
सो मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ प्रतिशत मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालय मातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।