२६ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अराजकता र अवसरवादविरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल र मातहतका केन्द्रीय निकाय, घटक संघ तथा प्रदेशका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सोमबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा महासचिव पोखरेलले पार्टीभित्र साङ्गठानिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको बताउनुभयो ।
‘हाम्रो पार्टीभित्रै हुर्किइरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो’, उहाँले भन्नुभयो ।
नेकपा (एमाले) समाजवादको लक्ष बोकेर हिँडेको पार्टी भएको बताउँदै महासचिव पोखरेलले समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र साङ्गठानिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादलाई गरिबी र दरिद्रता होइन, ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गर्नुभयो ।
समाजवादलाई बुझ्न नसक्दा दरिद्रता र गरिबीलाई बाँड्ने कुरा समाजवाद भनेर भ्रम फैलिएको बताउँदै उहाँले समाजवाद भनेकै समृद्धि र सुख भएको स्पष्ट पार्नुभयो । समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यले समाजवादका आधार तयार पार्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले हाल नेपाली समाज निर्वाहमूलक अर्थतन्त्रमा रहेको भन्दै नेपाली अहिले पूर्ण पुँजीवादको अवस्थामा समेत नपुगेको बताउनुभयो ।
अहिले पनि नेपाली समाजमा निर्वाहमुखी पछौटे सोच रहेको धारणा राख्दै उहाँले भन्नुभयो– यस्तो पछौटे सोचले मुलुकको विकास हुँदैन, सोच परिवर्तन गर्नैपर्छ ।
उहाँले एमालेमाथि राजावादी, आफूलाई कम्युनिष्ट भनेर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने, अराजकतावादी र विदेशी शक्तिहरूले आक्रमण गरिरहेको चर्चा गर्दै उनीहरूको आक्रमणबाट डराउनु नपर्ने बताउनुभयो ।
त्यसको प्रतिवाद किन भइरहेको छैन भन्ने कुरा भने चिन्ताको विषय भएको र आक्रमण प्रतिवाद गर्ने कुरामा पार्टीका कार्यकर्ता कमजोर देखिएको महासचिव पोखरेलले बताउनुभयो ।
लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेको बताउँदै अहिलेका सबै योगदान लोकतन्त्रको उपलब्धि भएको उहाँको धारणा छ ।
राजनीतिक अस्थिरताको कारण अझ धेरै गर्नुपर्ने काम गर्न नसकिएको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– राजनीतिक अस्थिरताका कारण हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ, त्यसकै लागि एमालेले मिसन– २०८४ तय गरेको हो ।