२५ जेठ (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित संलग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिनुभएको थियो । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।