detail-img

श्रीलङ्कामा कम्युनिष्ट पार्टीको अपूर्व विजयप्रति खुशी प्रकट गर्दै एमालेद्वारा बधाई तथा सफलताको शुभकामना 

२ मङ्सिर ( २०८१), काठमाडौं । नेकपा (एमाले)ले श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४) मा सम्पन्न संसदीय निर्वाचनमा नेसनल पिपुल्स पावर (एनपीपी) पार्टीले शानदार दुईतिहाई बहुमत हासिल गरेकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । 
संसदीय निर्वाचनमा एनपीपीले २२५ सिटमध्ये १५९ स्थानमा विजय हासिल गरेको छ । 
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज वक्तव्य जारी गरी  श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति पार्टीको तर्फबाट खुशी प्रकट गर्नुभएको छ ।  
‘हाम्रो पार्टी सङ्कटका बेला जनताले रोजेको यस विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने हार्दिक शुभकामना दिन चाहन्छ’, महासचिव पोखरेलको वक्तव्यमा उल्लेख गरिएको छ । 
कुशासन, राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक सङ्कटका विरुद्धमा दुई बर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपीपीका नेता अनुरा कुमार देशनायकेको विजय र हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास नेकपा (एमाले) व्यक्त गरेको छ । 
वक्तव्यमा भनिएको छ– कम्युनिस्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको हाम्रो पार्टी श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ । 
निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभीपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपीपी र राष्ट्रपति अनुरा कुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ ।