४ मङ्सिर (२०८१), घोराही (दाङ) । नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा आज यहाँ श्रद्धाञ्जली सभा गरिएको छ ।
नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गर्नुभयो । ‘आफ्नो लागि त सबैले गर्छन् तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैं स्मरणीय हुन्छ’, उहाँले भन्नुभयो ।
उपाध्यक्ष ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त गहिरो व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमुना भएको बताउनुभयो । कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैं सत्यको मार्गमा हिंड्ने गुणको पोखरेलका गुणको उहाँले सराहना गर्नुभयो । ‘कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो’, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो ।
कार्यक्रममा महासचिव शंकर पोखरेलले आफ्ना दाजु स्व. पोखरेलले साक्षरता अभियानको सुरुवात गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गर्नुभएको स्मरण गर्नुभयो । दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उहाँले पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उहाँले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।
वक्ताहरूले देवी पोखरेलको निष्ठा, साहस र नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँहरूले पोखरेलको योगदानलाई बहुआयामिक रूपमा स्मरण गर्नुभयो । केन्द्रीय सदस्य एवम् बहिनी मेनका पोखरेलले उहाँको सङ्घर्षशील जीवनका केही प्रसङ्गहरू उजागर गर्नुभयो । उहाँले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गर्नुभयो ।
नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली सभा सञ्चालन सचिव श्याम डाँगीले गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा कविता वाचन गरेर हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभयो ।
देवी पोखरेलको जीवन र योगदान बहुआयामिक थियो । उहाँको जन्म २००७ साल मङ्सिर ७ गते साविक विजौरी गाविस वडा नं ६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह)को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राख्नुभयो । उहाँले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवद्र्धन गर्नुभएको थियो ।
शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उहाँले खेलेको भूमिका महत्वपूर्ण छ ।