detail-img

‘मुलुकलाई अराजकताबाट मुक्त गर्नु र समाजलाई सही दिशामा अगाडि बढाउनु प्रमुख दलको कर्तव्य’

भ्रम चिर्न र जनतालाई पार्टीका   विचार र दृष्टिकोण जानकारी गराउन जागरण सभा 

३० कात्तिक (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न पार्टीले जनजागरण सभा गर्न लागेको बताउनुभएको छ ।
मङ्सिर ७ गते काठमाडौंमा गरिने जागरण सभाका बारेमा जानकारी गराउन पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले समाजमा देखिएको अराजकतालाई निरुत्साहित गर्ने कर्तव्य प्रमुख राजनीतिक दलको भएकाले सभाको आयोजना गर्न थालिएको बताउनुभयो ।
महासचिव पोखरेलले जनतालाई आशावादी बनाउन जरूरी रहेको र त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– जनता असन्तुष्ट छन् भन्ने खालको कुरा खडा गर्न खोजिएको छ तर जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरूरी छ, त्यो हिसाबले हामीले जागरणसभा गर्दैछौं ।
पत्रकारहरूका जिज्ञासाको जवाफ दिँदै महासचिव पोखरेलले सरकारका बारेमा उठेका प्रश्नको जवाफ दिने परम्परा विश्वव्यापी नै रहेको उल्लेख गर्नुभयो । सत्तापक्ष जनताका बीचमा जानै हुँदैन भन्ने होइन, छिमेकी भारतमा पनि प्रधानमन्त्री स्वयंले भाषण गरेर हिँडेको देखिन्छ ।
उहाँले भन्नुभयो– सत्तापक्ष पनि जनताका बीचमा जान्छ, आफ्नो दृष्टिकोण स्पष्ट पार्दछ । भ्रमहरूलाई चिर्दछ । जनतालाई आश्वस्त बनाउँछ । निराशालाई आशामा बदल्छ ।
महासचिव पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि संयन्त्र बनाएको धारणा राख्नुभयो । ‘संयन्त्रले साझा धारणा बनाउने र सरकारलाई सुझाव प्रस्तुत गर्ने काम गर्छ । यसले सरकारको काममा हस्तक्षेप गर्ने होइन । सरकारको कामका लागि संयन्त्रले सहजीकरण र समन्वयको भूमिका मात्र निर्वाह गर्ने हो’, उहाँले भन्नुभयो ।
अहिले मुलुकमा अस्थिरता सिर्जना गर्नेको मनोबल घटेको विश्लेषण महासचिव पोखरेलले सुनाउनुभयो । उहाँले भन्नुभयो– सरकारमा रहेका राजनीतिक दलको सामूहिक प्रतिबद्धता र प्रमुख राजनीतिक दलले राजनीतिक स्थायित्व खोज्ने जुन सङ्कल्प गरेका छन् त्यसले पनि मुलुकमा अस्थिरता सिर्जना गर्नेको मनोबल घटेको छ । अन्योलताको अवस्था एक हदसम्म अन्त्य भएको  छ ।
पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकाले जनजागरण सभाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 
उहाँले मङ्सिर ७ गतेको जनजागरण सभा र र्यालीका बारेमा जानकारी पनि गराउनुभयो । उपत्यकाका विभिन्न क्षेत्रबाट बिहान ११ः३० बजे भद्रकाली पुगेको र्याली  न्युरोड – रत्नपार्क – बागबजार – पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगी सभामा परिणत हुने छ । 
पत्रकार सम्मेलनमा पार्टीका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस विज्ञप्ति बाचन गर्नुभएको थियो । उहाँले जागरण सभाले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्नेसमेत बताउनुभयो ।
जागरण सभा नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको मुख्य आयोजनामा हुँदैछ । पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलका साथै उपत्यका तीनै जिल्लाका अध्यक्षहरू र सम्पर्क समन्वय कमिटीका संयोजनको उपस्थिति रहेको थियो । 
पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्ति यस प्रकार छः 
गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोंच र स्पष्ट गन्तव्यसहित नेकपा (एमाले) मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति, विधिको शासन र कानुनी राजको पक्षमा दृढ छ । सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादको आधार निर्माण गर्नु यसको मुख्य उद्देश्य हो भन्ने कुरामा हाम्रो पार्टीमा कुनै द्विविधा र अन्योल छैन । 
नेपाल राष्ट्रको पुनःनिर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको विकास र समृद्धिको नेतृत्व नेकपा (एमाले)ले मात्र गर्न सक्दछ भन्ने तथ्य स्थापित नै छ । यतिबेला पनि नेकपा (एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रतिनिधि संस्था मात्र होइन, प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित छ । यसलाई प्रमुख निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न हाम्रो पार्टीको सिंगो पंक्ति लागिरहेको तथ्य जगजाहेर नै छ । जनबल र जनसमर्थनका आधारमा राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादउन्मुख नेपाल राष्ट्रको निर्माणको उद्देश्य पुरा गर्न हाम्रो पार्टी दृढ सङ्कल्पित छ । 
तर यतिबेला नेकपा (एमाले) र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको छ । विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानविन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आ–आफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् । र, कालान्तरमा व्यवस्थाका विरुद्ध नै धावा बोल्ने दुश्प्रयत्न भइरहेको वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकाले आगामी मङ्सिर ७ गते नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसङ्गठन, पेसागत सङ्गठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा जनजागरण सभाको आयोजना गरिएको छ । जागरण सभालाई जनताको भव्य सहभागितामा सम्पन्न गर्ने पार्टीको योजना रहेको कुरा स्पष्ट गर्न चाहन्छौं । 
मङ्सिर ७ नै किन ? 
- राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न । 
- गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोंच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न । 
- वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न । 
- सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन ।
- आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न । 
आगामी मङ्सिर ७ गते प्रदर्शनीमार्ग, भृकुटीमण्डप जाऔं ! 
एमालेद्वारा आयोजित विशाल र्याली र जागरणसभामा सहभागी बनौं !!
देश र जनताको राष्ट्रिय स्वाभिमान, नेकपा (एमाले)कै नेतृत्वमा समृद्धिको अभियानलाई सफल पार्न व्यापक जनपरिचालन गरौं र जनजागरण सभालाई सफल पारौं !!