detail-img

‘जनतामा आशा र विश्वास सिर्जना गर्न अहिलेको सत्ता समीकरण’

२ बैशाख(२०८१), तनहुँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा सुशासन कायम गरी जनतामा आशा र विश्वास सिर्जना गर्न नयाँ सत्ता समीकरण बनेको बताउनुभएको छ । 
नेकपा (एमाले) व्यास नगरकमिटीले शनिबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 
उपमहासचिव ज्ञवालीले भन्नुभयो– सरकारको मुख्य उद्देश्य राजनैतिक स्थिरता हो । जसले सुशासन र विश्वास सिर्जना गर्दछ ।
नेकपा (एमाले) सरकारबाट बाहिर रहँदा देशको अर्थतन्त्र साह्रै नाजुक भएको हुँदा त्यसलाई लयमा फर्काउने काममा अहिलेको सरकार लागीपरेको उहाँले स्पष्ट गर्नुभयो । 
देश र जनताको प्रिय पार्टी भएकै कारण एमालेलाई सिध्याउन जसरी लागे, त्यो सम्भव भएन र थिएन भन्नुहुँदै उपमहासचिव ज्ञवालीले अव जनताको मुद्धा एमालेले मात्र सम्वोधन गर्ने बताउनुभयो । 
नेकपा (एमाले) देशको शक्ति भएको हुँदा यसको नेतृत्वमा मात्र देशको विकास र समृद्धि सम्भव रहेको बताउँदै उहाँले देश निर्माणमा सम्पूर्ण राजनैतिक शक्तिहरू न्युनतम कार्यक्रममा भने एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।  
उपमहासचिव ज्ञवालीले लोकतन्त्रका विरुद्ध विभिन्न घेराबन्दी भए पनि त्यो घेराबन्दी कुनै हालतमा सफल नहुने बताउनुभयो ।