detail-img

नयाँबर्ष २०८१ लाई विश्वास जगाउने बर्ष बनाउनुपर्छः अध्यक्ष ओली 

१ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ बर्ष २०८१ नेपाली समाजलाई भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने बर्षका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । 
प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले नयाँ बर्ष २०८१ को पूर्वसन्ध्यामा २०८० चैत ३० गते आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ बर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– बर्ष २०८१ लाई ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने बर्षका रूपमा स्थापित गर्नुपर्छ । 
कुनै पनि देश अरु कसैले बनाइ दिएको छैन । आफैले बनाउने हो । नेपाल पनि अरु कसैले आएर बनाइ दिँदैन, हामी नेपाली आफैले बनाउने हो । यो दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्छ । बिशेष गरी युवाहरूमा हुनुपर्छ ।
अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको भन्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गर्नुभयो ।
उहाँले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको तथ्यसहित तीन बिषयमा प्रष्ट हुन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– पुराना सबै पार्टी खराब हुन् भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने तीन कुरा अहिले अफवाहका रूपमा फैलाइएको छ, यी तीनै कुरा गलत हुन् ।  
उहाँले अहिले जबर्जस्त रूपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट जनतामा निराशा ल्याउने प्रयत्न भइरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले स्वदेशदेखि विदेशमा रहेका कोही पनि नेपाली अफवाहको शिकार हुन नहुने र २०८१ लाई भ्रममुक्त बर्षका रूपमा स्थापित गर्न सबैलाई आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले)ले बाहेक अरुले गर्न सक्दैनन् भन्ने सत्यलाई लुकाउन खोजिएको छ, सबै पुराना उस्तै छैनन् । पुराना सबै खराब छैनन् । प्रचार गरिएजस्तो नयाँ राम्रा छैनन्, हुँदै होइनन् ।
एमाले नेतृत्वको सरकारले छोटो समयमै विकासका काम अघि बढाएको तथ्य र सच्चाइलाई छोप्न अफवाह फैलाउन खोजिएको हुँदा यसप्रति सचेत हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हामीले मनोबल कमजोर बनाउने होइन, हामी गर्न सक्छौं भन्ने कुरा स्थापित गरेका छौं । 
राजनीतिक अस्थिरता देशका लागि दूरगामी रूपमा प्रत्युत्पादक र हानीकारक हुनसक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हामी बहकावका तर्कमा बहकिएर होइन, विश्लेषणात्मक ढङ्गले चल्नुपर्दछ । यथार्थतामा कसले कसरी काम गर्न सक्छ ? कस्ले कुन ढङ्गले देशलाई हाँक्न सक्छ ? कोसँग भिजन छ ? कोसँग छैन ? कस्ले देश र जनताको हितमा काम गरिरहेको छ, कस्ले छैन भन्ने कुरालाई बुझ्नुपर्छ । यो कुरामा कोही पनि भ्रममा पर्नुहुँदैन ।
उहाँले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक सही बाटोमा आएको र अब राष्ट्रिय हित र विकासको गति तीब्र ढङ्गले अघि बढ्ने बताउनुभयो । 
अहिले राजतन्त्रको वकालत गर्दै संविधानमाथि बलमिच्याइ गरिरहेकोतर्फ पनि सबै बिशेष रूपमा सतर्क रहनुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– जन्मँदै ठूलो, सर्वश्रेष्ठ भन्ने कुरा मानव समाजमा स्वीकार्य हुन्न । जन्मसिद्ध अधिकारको आधारहीन सिद्धान्त र सम्पूर्ण नागरिकभन्दा माथि व्यक्ति सर्वोच्च हुन्छ भन्ने कुरा बिल्कुलै गलत छ । अस्वीकार्य छ । शक्तिको स्रोत नेपाली जनता हुन्, सर्वोच्चता जनतामा छ, कुनै व्यक्ति बिशेषमा होइन ।
विगतमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि मुलुकले निकै ठूलो क्षति बेहोर्नु परेको भन्दै देशका लागि नयाँ सत्ता समीकरण बनाउनु परेको अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– नयाँ समीकरणसँगै परिस्थिति फेरिएको हुँदा अब राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डतालाई साँचो अर्थमा प्रयोग गर्दै हामी सुशासन र विकासको गतिलाई अघि बढाउने, जनताको जीवनस्तर सहज बनाउने काममा जुटेका छौं । 
उहाँले नयाँ बर्ष उमङ्गको बर्षका रूपमा अघि बढाउनुपर्ने भन्दै सबैलाई सो कामका लागि शुभकामना दिनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा मञ्चका इन्चार्ज डा. राजन भट्टराईले प्रवासी नेपाली मञ्चले नेपाली चाड पर्वको अवसर पारेर गर्दै आएको गतिविधिले प्रवासमा रहेका नेपालीलाई नेपाल बुझाउने काम गरेको भन्दै धन्यवाद दिनुभयो ।
यस्तै प्रतिनिधि सभा निर्वाचनका लागि इलाम–२ को उपनिर्वाचनका एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिलेसम्मको अभियानबाट जित्ने आधार बनेको भन्दै शानदार जितका लागि प्रवासबाट आफ्ना परिवारका सदस्यलाई मत दिन लगाउने काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले मञ्च मातृभूमि नेपालको समृद्धिका लागि स्पष्ट खाकासहित विश्वभर अभियानमा रहेको बताउनुभयो । उहाँले जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने नारालाई सार्थक बनाउन सबैलाई अपिल गर्दै नयाँ बर्षको शुभकामना दिनुभयो ।
मञ्चका सचिव हेम शेर्पाले सञ्चालन गर्नुभएको कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्यसहित महादेश कमिटी, राष्ट्रिय कमिटी र राज्य कमिटीका नेताहरू सहभागी हुनुभएको थियो ।