detail-img

सीमा समस्या समाधान र इपीजी प्रतिवेदन बुझ्ने विषयलाई भारतसँग जोड दिएर राख्न प्रधानमन्त्रीलाई सुझाव 

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १७ गतेदेखि गर्नुहुने भारत भ्रमणका क्रममा  नेपालको राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिन सुझाव दिएको छ । 
प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणका सन्दर्भमा आइतवार आयोजना गर्नुभएको छलफलमा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई ईपीजीको प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा जानुपर्ने विषयलाई जोड दिएर राख्न र सीमा समस्या समाधानका लागि पहल गर्न सुझाव दिनुभएको छ । 
सिंहदबारमा पूर्वप्रधानमन्त्री र दलका नेताहरूसँगको छलफलमा नेपालको राष्ट्रिय हितमा दृढताका साथ उभिँदा प्रमुख विपक्षी  दलको हिसाबले नेकपा (एमाले) को पूर्णसमर्थन रहने पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभएको थियो । 
बैठकमा छलफलपछि पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी गराउँदै भन्नुभयो– नेपाल–भारत सम्बन्धलाई २१औं शताब्दी सुहाउँदो बनाउनका लागि सुझाव दिन गठन गरिएको प्रबुद्ध समूहको प्रतिवेदन तयार भएको चारबर्ष वितिसक्दा पनि भारतका कारण बुझ्ने काम भएको छैन । प्रतिवेदन बुझ्ने र त्यसका सुझाव कार्यान्वयन हुँदा मात्र दुई देशबीचको सम्बन्धमा नयाँ आयाम दिन्छ भन्ने कुरा हामीले गरेका छौं ।  
त्यसैगरी, दुई देशबीचको सीमा समस्या समाधानको विषयलाई भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक राख्न प्रधानमन्त्रीलाई आग्रह गरिएको वताउँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो– ऐतिहासिक तथ्य, प्रमाण, नक्शा  र सन्धिहरूले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग नेपालको हो भन्ने स्पष्ट छ । त्यसो भएकाले यो भू–भाग नेपालले प्रयोग गर्न पाउने गरी सीमाको विषयलाई टुङ्ग्याउनुपर्छ । 
उहाँले सीमा समस्या समाधानको विषय दुई देशबीच सचिवस्तरीय वार्ताबाट टुङ्ग्याउने भन्ने समझदारी रहेको जानकारी गराउँदै त्यसलाई कार्यान्वयन गरिनुपर्छ भन्नुभयो । 
त्यस्तै, दुई देशबीचको व्यापारमा नेपालको पक्षमा असाध्य ठूलो घाटा रहेकाले यसलाई कम गर्न बाणिज्य सन्धिको पुनरावलोकन गर्नुपर्ने विषय पनि भ्रमणका क्रममा राख्न सुझाव दिएको उपमहासचिव ज्ञवालीले वताउनुभयो । 
‘पञ्चेश्वर परियोजना लामो समयदेखि अड्केर रहेको छ, त्यस परियोजनामा मुख्यगरी पानीको बाँडफाँट अहिलेसम्म नटुङ्गिएको विषय हो, महाकाली सीमा नदी भएकाले महाकालीको आधा पानीमा नेपालको हक सुनिश्चित गरेर मात्रै यो परियोजनालाई अगाडि बढाउन हामीले प्रधानमन्त्रीलाई भनेका छौं, उहाँले भन्नुभयो । 
हाम्रा नयाँ बनाइएका विमानस्थलमा हवाई प्रवेश मार्गका कारण ठूलो समस्या भइरहेकाले भारतसँगको पूर्व समझदारी बमोजिम नयाँ बनेका विमानस्थलका लागि हवाई प्रवेश मार्गका लागि सम्झौताको विषय पनि गम्भीरतापूर्वक राख्न प्रधानमन्त्रीलाई सुझाव दिइएको उहाँले वताउनुभयो ।  
उपमहासचिव ज्ञवालीले कुनै पनि बिषयमा नेपालको अहित हुने गरी सम्झौता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको वताउनुभयो ।