detail-img

कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री

२५ वैशाख (२०८२), काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियान अन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताउनुुभयो ।
उहाँले पहिला पहिला आशिर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरूपमा गरेर स्वस्थ रहन सकिने र कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला फेल भएको सन्दर्भ उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गर्नुभयो । 
प्रधानमन्त्री ओलीको सम्बोधनः  
कुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको सङ्ख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने हाम्रो  देशमा उन्मूलन भएको छैन ।
यस्ता कार्यक्रमले जनचेतना जगाउने कुरामा मद्दत गर्छ । खासगरी आजको कार्यक्रम कुष्ठरोग र त्यसको निवारणसम्बन्धी रहेको छ । यसमा के कस्ता  कदम चाल्न आवश्यक छ, सरकारी तवरबाट के कस्ता नीति निर्माण गर्न आवश्यक छ, कानुन बनाउन आवश्यक छ, व्यावहारिक कदम कस्ता चाल्न आवश्यक छ, रोगको पहिचान र उपचारको सन्दर्भमा के गर्न जरूरी छ र सामाजिक जनचेतना र अपहेलनाबाट मानिस प्रताडित छ, उसको पीडा कसरी हटाउने भन्ने सन्दर्भमा केही गर्नुपर्छ भन्ने एउटा साझा सङ्कल्प, अठोट र त्यसका निम्तिका प्रयासहरू अगाडि बढाउन सजिलो अवश्य पर्छ । त्यसकारण यो कार्यक्रमको आयोजना हुनु आफैँमा प्रशंसायोग्य छ । आयोजकहरूलाई म धन्यवाद भन्न चाहन्छु । 
अघि नै हामीले सुन्यौं, मधेस, कोशी र लुम्बिनी प्रदेशमा यसका अलिक बढी असरहरू छन् र केही जिल्लाहरूमा यो अलिक बढी मात्रामा छ । यस स्थितिमा हामी सन्तुष्ट हुन सक्दैनौं । यस रोगलाई निवारण गरिछाड्ने हाम्रो प्रयासलाई अझ गतिशील र प्रभावकारी ढङ्गले अगाडि बढाउन जरूरी छ । यसका निम्ति मेरो अर्काे पनि सुझाव छ– अहिलेसम्म हामी जुन ढङ्गले एलोपेथिक औषधिमा भर परिराखेका छौं, यसलाई आयुर्वेदिक औषधिले पनि ठीक गर्न सक्ने, यसको रिसर्च हुन जरूरी छ । किनभने आयुर्वेदिक औषधि भनेको प्रकृतिसँग र प्रकृतिको जीवनको इकोसिस्टमसँग सम्बन्धित छ र जुन पनि रोग  लाग्छ, त्यस रोगलाई  निको पार्न सक्ने कुरा फेरि प्रकृतिमै निहीत छ । औषधि पनि प्रकृतिमै निहीत छ । खानामै निहीत छ । यसलाई खाली पत्ता लगाउन  जरूरी छ, कुन चिजबाट यो रोग पैदा हुन्छ र कुन चिजबाट यो रोगको अन्त्य हुन्छ । यसको प्रयोग र परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढङ्गले  निवारणका उपायहरू पत्ता लागेको छ तर आयुर्वेद यसमा प्रभावकारी छ । हामीले उहिलेदेखि आयुर्वेदको सहारा लिने गरेका थियौँ, अहिले अलिकति कमजोर भएको छ । यसलाई परम्परागत र आयुर्वेदिक औषधि विज्ञानको पक्षलाई विकास र रिसर्च गर्दै उपचार विधिमा जान जरूरी छ । 
हामी निरोगी नेपालको महासङ्कल्पमा छौं । स्वास्थ्य क्षेत्रको महासङ्कल्प हो– निरोगी नेपाल । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौं । पहिलो कुरा, नेपालमा कोही पनि रोगी र बिरामी हुँदै नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति र अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । त्यसकारण मान्छेहरूको इम्युन सिस्टम नै कमजोर नहोस् । यसका निम्ति पनि उपायहरू गरौं । खानपिन पेट भर्नका लागि मात्रै होइन, सन्तुलित खानपिन र स्वास्थ्यका लागि उपयोगी खानपिन, लाभदायी खानपिन गरौं, जस्तो पनि होइन । स्वास्थ्यका लागि खानपिन गरौं । हामीले आफ्नो आनीबानी पनि ठीक गर्नुपर्दछ । स्वास्थ्य र स्वस्थ रहनका लागि खानपिन हो भन्ने कुरा थाहा पाउनुपर्छ । हाम्रा कतिपय आदतहरूले पनि हामीलाई बिरामी बनाउँछ । हाम्रा आदतहरू पनि सच्याउन जरूरी छ । त्यसमध्ये खानपिनको आदत, रहनसहनको आदत सच्याउन जरूरी छ । मान्छेले कुनै पनि श्रम गरेन, व्यायाम गरेन भने मान्छे बिरामी हुन्छ, कमजोर हुन्छ, इम्युन सिस्टम कमजोर हुन्छ । ती पक्षहरू आहार–सन्तुलित, समयमा, उपयुक्त, विहार, व्यायाम र काम एउटै कुरा हो । जसले पाचन प्रणालीलाई पनि ठीक गर्छ । आजकाल आशिर्वाद दिंदा तिम्रो पाचन प्रणाली ठीक होस् भन्ने चलन छैन । उहिले उहिले तिम्रो पाचन प्रणाली ठीक रहोस् भन्थे । स्वस्थ रहनका लागि एकदम आवश्यक छ– पाचन प्रणाली । होइन भने न भोक लाग्छ, त्यसपछि न निद्रा लाग्छ, न प्रतिरोध क्षमता हुन्छ । पाचन प्रणाली कसरी ठीक हुन्छ भन्दा प्रशस्त काम गर्यो, थकाइ लाग्यो, मस्त निदायो र आराम गर्यो भने त्यसपछि पाचन प्रणाली ठीक हुन्छ । काम गरेन भने भोक लाग्दैन, खाना रुच्दैन, पाचन प्रणाली ठीक हुँदैन । आन्द्राभुडी नै चलिराखेको हुँदैन, विस्तारै अल्छि  लागेर चल्छ, कहाँबाट भोक लाग्ने ? त्यसकारण पहिलो कुरा– स्वस्थ रहने हो भने हामी हरेक आफैँ पनि सचेत हुन जरूरी छ । हामी सचेत रहेर आफ्नो स्वास्थ्यलाई कसरी मेन्टेन गर्ने ? फेरि पनि कुनै न कुनै रोग ट्रमाजस्ता आइपर्न सक्छन् ।  धेरै कुराहरू त आइनपर्ने विधि गर्न सकिन्छ । शरीरका सबै बाह्य र आन्तरिक अङ्ग प्रत्यङ्ग अवयवहरूलाई स्वस्थ र तन्दुरुस्त राख्ने उपायहरू छन्, तिनीहरूलाई अपनाउन सकिन्छ, काबुबाहिरको परिस्थिति परेन भने । 
जस्तो मेरो किड्नी किन खराब भयो भन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ । नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर केटनस आदि इत्यादि भएन संयोगको कुरा हो । त्यसबेला दिनको ७५  पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस्, मरमसला किन्नुस्, साबुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर । दाँत हामी कसरी सफा गर्दथ्यौं भने– एउटा ब्रस किन्यो, त्यो पनि महङ्गो किन्न सकिंदैनथ्यो, सस्तो किन्यो, दुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ! ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दाँतमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिंदैनथ्यो । मुख बाङ्गो  पारिपारिकन ब्रस गर्नु पर्दथ्यो । टुुथपेस्टको ट्युुव हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निचोर्दानिचोर्दा !!! नयाँ किनौं पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ! त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनु ? मलाई क्षयरोग लाग्यो– औषधि छैन, खाना छैन । अल्सर भयो– औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउबाट रगत आउँछ । पेनकिलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ? मेरो किड्नी फेल हुनुुको अर्थ पेनकिलरले हो । सहनै नसकेर पेनकिलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ? अहिले बाँची हालौं, पेनकिलरको असरपछि हेरौंला भनेर खाइयो । यस्ता काबु बाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुका परिस्थिति त्यस बेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गर्दथ्यौं । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौं । 
हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्छ । तर कुष्ठरोग कतिबेला सर्छ थाहा हुँदैन । सुरुमा त यो पैदा हुन्छ, के कारणले पैदा हुन्छ ? त्यो पत्ता लगाउन र त्यो पैदा नहोस् भन्ने कुराका लागि हामीले कुनै भ्याक्सिन पो तयार गर्न सक्छौं कि ? अथवा तयार भएपछि पत्ता लाग्यो भने तुरुन्त उपचार सुरु गर्नु पर्दछ । सङ्क्रामक रोग भन्ने एउटा ह्याबोक के छ,  हामीले उपचार सुरु गर्यौं भने सुरु गरेपछि त्यसको निको हुने प्रक्रिया सुरु हुन्छ । निको हुने प्रक्रिया थोरै अगाडि बढ्ने बित्तिकै त्यसको सरुवापन जुन हुन्छ, सङ्क्रमणकारी प्रवृत्ति कमजोर भइहाल्छ र सर्न छोड्छ । अलिक समय औषधि खाएपछि सर्न छोड्छ र त्यो सङ्क्रामक रोग हुँदैन । औषधि नखाँदा त्यो सङ्क्रमक हुन्छ, खासगरी परिवारलाई र निकटका व्यक्तिलाई सर्ने खालको हुनसक्छ । त्यसैकारण मान्छे तर्सिन्छ । 
अब यहाँ कानुनी प्रबन्ध, सामाजिक बहिष्कारदेखि हेलाँहोचाका कुराहरूलाई रोक्नुपर्छ । पहिला ठूलो सङ्ख्यामा कुष्ठरोग थियो, पछि औषधि खाएर नसर्ने भइसक्यो र निको भइसक्यो । निको भइसकेपछि पनि मान्छेले एक समय कुष्ठरोग थियो भन्ने थाहा पायो भने हेलाँहोचो गर्छ । सँगै बस्न र अनेक हिसाबले अप्ठ्यारो मान्छ । त्यसको कुनै जरूरी छैन, त्यो निको भइसकेपछि केही फरक हुँदैन । उस्तै हो उहिले थियो, अहिले छैन । बिरामी थियो तर अहिले छैन । त्यसकारण हेलाँहोचो गर्नु पर्ने त्यस्तो छैन । कानुनमा केही कुराहरू स्पष्ट पार्नु पर्ने अझै हुनसक्छन् । ती कुराहरूलाई हामी हेर्छांै । कसरी व्यवहारिक, उचित र उपयुक्त कानुन निर्माण गर्ने ?, जसबाट बहिष्करण, हेलाँहोचोजस्ता कुराहरू नहोउन् । अर्काे, यस्तो पनि गर्नु हुँदैन, जसबाट सङ्क्रमण फैलियोस् ।  सङ्क्रमण नफैलिने र हेलाँहोचो नहुने यो दुईवटै स्थितिको सन्तुलन हामीले कायम गर्नुपर्छ र अगाडि बढ्नु पर्दछ । 
हामी सबै रोगको निदान मात्रै होइन कि निवारण चाहन्छौं । त्यो प्रकट भइसकेपछि होइन कि त्यो देशबाटै उन्मूलन होस् । उहिले बिफरको एउटा लहर आउन्थ्यो, त्यो लहर आएपछि त्यसले हरेक वर्ष ठूलो जनसङ्ख्यालाई समाप्त पारेर लिएर जान्थ्यो । आज हामीले बिफर उन्मूलन गरेका छौं । मेरो आमा बित्नु हुँदा २२ वर्षको हुनुहुन्थ्यो, म तीन वर्षको थिए । आमा बिफरको कारणले बित्नुभएको थियो । मैले आमा बिफरले बित्नुभएको भन्ने थाहा पाएपछि बिफरसँग मेरो यस्तो दुष्मनी भयो कि स्कुलमा भ्याक्सिन आयो भने म गाउँगाउँमा पनि त्यो भ्याक्सिन लिएर जान खोज्थें र लिएर पनि जान्थे । ग्रामीण चेतनाको स्तर के थियो भने, मेरो घरभन्दा परतिर बाटो थियो र बाटोभन्दा परितिर एउटा वस्ती थियो । झापा जिल्लामा स्थानीय आदिवासीको । त्यहाँ हरेक वर्ष केही व्यक्तिहरूको बिफरका कारणले निधन हुन्थ्यो । उनीहरू खोप लगाउन नमान्ने, खोप नलगाएपछि कच्चा अवस्थामा बिफर लाग्थ्यो । पहिला नलागेका मान्छे थिए भने तिनीहरूलाई त लाग्यो लाग्यो । बिफर एकपटक लागिसकेकालाई बरु लाग्दैन, नलागेकालाई त लाग्यो लाग्यो र केही मान्छे जान्थे । मैले भ्याक्सिन लिएर गाउँमा आउँदै छु भन्ने थाहा पाएपछि गाउँका मान्छेहरू गाउँ छोडेर भागे । बालबच्चा च्यापेर अलिक टाढा अर्को गाउँमा गएछन् । म बेलुका गएर सम्झाउन खोजें, यस्तो हो बाँचिन्छ भनेर तर मानेनन् । मैले भनेँ– मेरो कवुल र प्रतिबद्धता भयो कि तपाईंहरूलाई भ्याक्सिन लगाइंदैन, तपाईंहरू गाउँमा गएर बस्नुस् । त्यो ग्यारेन्टी गरेपछि उनीहरू बल्ल गाउँमा फर्किए । त्यत्रो आतङ्क थियो कि खोप लगायो भने भगवान रिसाउँछन् र हामी बर्बाद हुन्छौं भन्ने । फेरि त्यही वर्षमा केही मान्छे त्यहीं गाउँमा बिते । मैले धेरै कोसिस गर्नु पर्यो कि हामीले भ्याक्सिन लगायौं, तपाईंहरूले लगाउनुुभएन, यताको गाउँमा सरेन, यताको गाउँमा रोग आएन, यताको गाउँमा आयो, तपाईंहरूकोमा मान्छे यसरी मरे अब भ्याक्सिन लगाउनुपर्छ भनेपछि बल्ल बिफर निवारण भयो । यस्ता उपायहरू हामी धेरैले गर्यौं होला । तराईमा मलेरियाले भुसुक्कै मान्छे मर्दथे । मलेरिया उन्मूलन भयो । त्यसकारण उन्मूलन गर्न सकिन्छ । निको नहुने रोग कुनै छैन । निको नहुने स्टेजमा पुग्यो भने मात्रै बेग्लै कुरा हो नत्र भने निको नहुने रोग भनेको कुनै छैन । सबै रोग निको हुन्छ र हामी निको पार्न सक्छौं । 
यस सन्दर्भमा सरकारले गरेका प्रयासहरू बहुत राम्रा छन् । स्याङ्जाको मालुङ्गा हो क्यार ठाउँको नाम, मालुङ्गामा लेप्रोसी क्याम्प थियो । लेप्रोसीका बिरामीहरूलाई निको पार्ने क्याम्प खडा गरिएको थियो । मलाई २०३९ सालमा काठमाडौंबाट पोखरा जेलमा लगियो । मालुङ्गा गाउँतिरका मानिसहरू त्यहाँ थिए र त्यसमध्ये एकदुुई जना लेप्रोसी सङ्क्रमित पनि थिए । उनीहरूलाई लेप्रोसी थियो र त्यहीँ उनीहरूलाई औषधि पनि दिइन्थ्यो । मैले उनीहरूबाट लेप्रोसीका सम्बन्धमा यथार्थ जान्ने मौका पाएँ । यो कस्तो हो र कस्तो अवस्थामा सर्छ, सर्दैन । लेप्रोसी हटिसकेको थिएन तर उनीहरू सङ्क्रामक अवस्थाबाट मुक्त भइसकेका थिए । सङ्क्रामक अवस्था टरिसकेको थियो किनभने निको हुने प्रक्रिया निकै अगाडि बढिसकेको थियो । त्यो रोगका किटाणुुहरू कमजोर भइसकेका थिए । यसलाई निको पार्न नसकिने होइन, यो अनिवार्यरूपमा निको हुन्छ । जति छिप्पिएको छ, त्यति समय लाग्ने हो । सुरुमै भयो भने अलिक छिट्टै निको हुन्छ । जुन अङ्गभङ्ग भएको छ, त्यो फेरि क्योर हुने कुरा त भएन । त्यो गएको गइहाल्यो । त्यसले हात खुट्टाका औलाहरू झर्ने अनेक हुन्छ । अझ बढ्दै गयो भने यसले धेरै बिगार्न सक्छ, मान्छेलाई चल्न नसक्ने, अशक्त बनाउने र अझै माथितिर फैलिंदै आउने पनि हुनसक्छ । त्यसकारण यसलाई समयमै उपचार गर्यो भने थाहा पाउने बित्तिकै, अलिकति घाउ हुने बित्तिकै र त्यसको सेन्सेसन छैन भन्ने थाहा पाउन सजिलो छ कि सेन्सेसन छैन भनेपछि यो कुष्ठरोग हो भनेर थाहा पाउन सकिन्छ । टुप्पामा कुष्ठ रोग लागेको छ अरु बढी सेन्सेसन हुँदैन । छुँदा थाहा पाइएन भने यो कुष्ठरोग भएछ भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यसकारण छिटै परीक्षण गरेर छिटै उपचार गर्ने । त्यो सर्वसाधारणले पनि थाहा पाउन सक्छ । छुँदा थाहा पाइएन, सेन्सेसन भएन भने त्यो कुष्ठरोग हो, त्यसकारण उपचार गराउ भन्ने यति जानकारी कमसेकम सर्वसाधारणमा हामीले पुर्याउनु पर्दछ ताकी हामी आफैँले रोग चिनेर उसले उपचार गराउन सकोस् । यसो भएपछि यस रोगको हामी केही वर्षभित्रमा उन्मूलन गर्न सक्छौं । 
आजको यस भेलामा यसका आयोजक संस्थाहरूको यो सक्रियता रहोस् । तपाईंहरूले यसमा घटाउन र बढाउनुपर्ने आवश्यकता छैन । नबढाइकन र नघटाइकन यथार्थ वर्णन विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट अनुरोध गरेर पनि तपाईंहरूले जनचेतना जगाउनुभयो र स्वास्थ्य मन्त्रालयले यस सम्बन्धमा सञ्चार मन्त्रालयसँग परामर्श गरेर अथवा मिडिया हाउससँग परामर्श गरेर यस सम्बन्धमा सहकार्य पनि गर्न सक्छ र जागरण अभियान विशेष ढङ्गले चलाउन सकिन्छ । देशभरिका मान्छेहरूलाई यस सम्बन्धमा जानकारी गराउन सकिन्छ । जहाँ टेलिभिजन छैन, त्यहाँ समाचारबाट हुनसक्छ । 
आज मोबाइलको जमाना छ । मोबाइललाई प्रयोग गरेर यस सम्बन्धी जनचेतना जगाउन सकिन्छ । विभिन्न ढङ्गले जनचेतना जागरण गर्न सकिन्छ । जसले गर्दा यो सर्न र फैलिन नपाओस्, सरिहाल्यो, फैलिहाल्यो वा रोग प्रकट भइहाल्यो भने, कसैमा देखा परिहाल्यो भने यसलाई समयमै पहिचान गरेर उपचार गर्न सकियोस् । मैले अघि नै भनेँ– यसको निदान गाह्रो छैन र कुष्ठरोग हो भनेर पत्ता लगाउन सजिलो छ । यो आफैँले घरमा पत्ता लगाउन सकिने कुरा हो । त्यसकारण खाली जनतामा यसो भयो भने कुष्ठरोग हुने रहेछ भनेर चेतना जगायो भने मात्रै त्यो पत्ता लागिहाल्छ । रोग लुकाउनु हुन्न भन्ने कुरा हामीले बुझाउन जरूरी छ । किनभने लुकायो कि निकै धेरै वर्ष औषधि खानुपर्छ । हात खुट्टाका औलाहरू झर्न सक्छन् । विभिन्न जोर्नीहरू विकृत हुनसक्छन् । त्यसकारण यसलाई ठीक ढङ्गले लान जरूरी हुन्छ । यसो भएर यी चेतनाका कुराहरू फैलाउने र अगाडि बढाउने हामीले गर्यौं भने यसलाई अन्त्य गर्न, निवारण र उन्मूलन गर्न सम्भव छ । त्यसकारण यस सन्दर्भमा हाम्रो साथमा आज औषधि छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । औषधि भनेको कुष्ठरोगको काल हो, त्यसलाई सिध्याएर छोड्छ । त्यो हामीसँग छँदैछ । खाली बिरामी र औषधिको भेट गराउनुु हो । बिरामीलाई नियमित औषधि सेवन गरुन् भनेर सिकाउनुु पर्छ । औषधिमा तलमाथि नहोस्, नियमित औषधि सेवन गरुन् । मात्रा जे बताइएको छ, त्यसअनुसार सेवन गरुन् । किनभने यो अस्पतालमा बसेर गराउने उपचार पनि होइन, यो घरमै बसेर गर्ने उपचार हो, लामो समय लाग्छ । खाली औषधि खाने हो । त्यसकारण अस्पताल भन्दा घरमै बसेर गर्ने हो । त्यसकारण बिरामी आफैँ सजग हुनुपर्दछ र बिरामीलाई के थाहा हुनुपर्दछ भने सजगता भएन भने यो विकराल रूप लिने खतरा हुन्छ र यसले ठूलो विनाश गर्छ । त्यसकारण बिरामी अत्यन्त सजग हुनुपर्छ । खासगरी रोग पत्ता लागेपछि सजग हुनुपर्छ । औषधि प्राप्त भएपछि औषधि खानुपर्छ र औषधिमा पैसा लाग्दैन, निःशुल्क उपचार हुन्छ । यसको निशुल्क उपचार हुन्छ, निशुल्क औषधि पाइन्छ । त्यसकारण यो खर्चिलो उपचार र पैसा छैन भन्ने स्थिति होइन । निशुल्क उपचार सरकारले उपलब्ध गराउँछ । औषधि सेवन गर्ने हो, छुँदा थाहा पाइएन भने लेप्रोसी भन्ने थाहा हुन्छ र आफैँले थाहा पाइन्छ । अस्पतालमा चिकित्सकलाई देखाएर औषधि लिन पाइन्छ । औषधि यति समयका लागि लिएर  जाने र फेरि ल्याउने, अलिक टाढा छ भने, अर्को व्यक्ति अस्पतालमा गएको छ भने प्रेस्किप्शन पठाएर त्यसमार्फत् पनि औषधि झिकाउन सकिन्छ । त्यसकारण यो धेरै गाह्रो कुरा होइन, यसलाई निको पार्न सकिन्छ । जनचेतना, सामाजिक सहयोग, सद्भाव र सरकारको अभियान र सरकारले अलिकति ध्यान दिनुपर्छ । यसै क्षेत्रमा विभिन्न संघसंस्था लागिरहनु भएकै छ । संघसंस्थाहरूको सक्रियतालाई प्रभावकारी कसरी बनाउने, त्यो डेडिकेशनलाई उपलब्धिमूलक कसरी बनाउने भनेर लागिरहेका संघसंस्थाहरूले ध्यान दिन जरूरी छ । 
समाजलाई निरोगी बनाउनका लागि, स्वस्थ समाज निर्माण गर्नका लागि यति धेरै साथीहरू यहाँ उपस्थित हुनुहुन्छ । यसमध्ये कतिपय साथीहरू अहिले पनि कुष्ठरोग लागिरहेका साथीहरू कतिपय निको भइसकेका साथीहरू पनि हुन सक्नुहुन्छ । निको भइसकेका साथीहरूले निको नभइसकेका साथीहरूलाई प्रेरणा र हौसला दिनु पर्दछ कि कसरी निको भयो भनेर । निको हुन्छ, मलाई पनि पहिला थियो, मैले निको पारेँ भनेर मान्छेलाई त्यो कुरा बताउनुपर्छ । त्यो बताएपछि मान्छे उत्साहित भएर त्यसको निराकरणमा लाग्छ । फेरि एकपटक म सबै आयोजकहरूलाई धन्यवाद भन्न चाहन्छु ।   
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वैशाख, २०८२ मा नेपाल कुष्ठरोग सम्मेलनका अवसरमा व्यक्त गर्नुभएको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको पूर्ण विवरण)