detail-img

‘स्व. चौलागाईं पार्टीको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने असल नेता’

२८ वैशाख(२०८२), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका तत्कालीन पोलिटव्यूरो सदस्य स्व.पशुपति चौलागाईं पार्टीको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने एउटा असल कम्युनिष्ट नेता भएको बताउनुभएको छ । 
नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको नेता स्व. चौलागाईंको चौथो स्मृति सभा कार्यक्रममा उपमहासचिव ज्ञवालीले चौलागाईंलाई कार्यकर्ताका कुरा सुन्ने, आफ्नो कुरा प्रष्ट राख्ने, पब्लिक रिलेशन राम्रो राख्ने नेताका रूपमा आफूले सम्झने गरेको बताउनुभयो । 
स्व.चौलागाईंबाट सिक्नुपर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने चार–पाँचवटा कुरा सबैभन्दा बढी महत्वपूर्ण रहेको धारणा राख्नुहुँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो– अब हाम्रो राजनीति केवल कोरा राजनीति होइन, जनताको जीवनसँग जोडिएको, जनताको समृद्धिसँग र विकाससँग जोडिएको राजनीति हुनुपर्छ । पशुपति चौलागाईंलाई स्मरण गरिरहँदा हामीले हाम्रो राजनीतिलाई जनताको दैनन्दिन जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि केन्द्रित गर्नुपर्दछ । 
राजनीतिमा निरन्तरता, निष्ठा र इमानदारी हुनुपर्ने र त्यो पक्षमा दृढतापूर्वक उभिँदै आएको एउटा ठूलो पङ्ती पार्टीमा रहेको र अर्कोतर्फ राजनीतिमा धेरै खालका विकृतिहरू, विभिन्न खालका आग्रह र प्रवृत्तिहरू देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले विकृति, आग्रह र खराव प्रवृत्तिलार्ई परास्त गर्नुपर्ने र यसो गर्नसक्दा स्व.चौलागाईंको स्मरण सार्थक हुने भनाइ राख्नुभयो । 
मञ्चका अध्यक्ष उमेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यहरू आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रकमा २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको थियो ।