detail-img

दुबै गोडा गुमाएका सगरमाथाका सफल आरोही बुढामगर सम्मानित

काठमाडौं । नेकपा (एमाले) ले दुवै गोडा गुमाएर शारीरिक रूपमा प्रतिकूल अवस्थामा रहेर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका रोल्पाका हरि बुढामगरलाई सम्मान गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा उहाँलाई खादा र पुष्पगुच्छासहित सम्मान गर्नुभयो । 
अध्यक्ष ओलीले बुढामगरले गर्नुभएको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूका लागि मात्रै नभएर सबै नेपाली र विश्वकै लागि प्रेरणादायी रहेको बताउनुभयो । 
उहाँले यो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– मानिसले साहस र  सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन् । हरि बुढामगरले गर्नुभएको  सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ ।


बेलायती सेनामा भर्ती हुनुभएका बुढामगर अफगानिस्तानमा खटिनुभएको समयमा दुवै गोडा गुमाउनुभएको सन्दर्भमा अध्यक्ष ओलीले नेपालीहरू वेलायती सेनामा भर्ती हुने व्यवस्था अद्यावधिक गर्नु जरूरी रहेको वताउनुभयो । 
आफू प्रधानमन्त्री रहेको समयमा यो विषय उठाएको स्मरण गर्दै अध्यक्ष ओलीले नेपालीले पाउने सेवा, सुविधा र सर्त द्विपक्षीय सम्झौताका आधारमा हुनुपर्ने वताउनुभयो । 
वेलायती सेनामा भर्ती भएका नेपालीलाई साहसी छन् भन्ने नाममा अफ्ठ्यारो काममा लगाउने अवस्थामा परिवर्तन ल्याउनका लागि नेपाल सरकारले गम्भीरतापूर्वक वार्ता गर्नुपर्ने उहाँको भनाइ छ । 
कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले दुवै गोडा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर बुढामगरले विश्वमा नेपाललाई चिनाउने काम गर्नुभएको हुँदा यो नेपालीका लागि खुसी र गर्वको विषय भएको वताउनुभयो । उहाँले अत्यन्त कठिन कार्यमा सफलता हासिल गर्नुभएका बुढामगर अदम्य प्रेरणास्रोत भएको वताउनुभयो । 
सो अवसरमा मन्तव्य राख्दै सफल आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिलाई सहयोग र अवसर दिन आग्रह गर्नुभयो । विगतमा जागीर खाने वाध्यतामा दुबै गोडासमेत अर्कैलाई दिएको तर देशलाई के दिएँ ? भावुक मुद्रामा आफैलाई प्रश्न गर्दै उहाँले अबका दिन अपाङ्गता जनजागरण ल्याउने र अपाङ्गता भएका व्यक्तिको सेवामा खट्ने बताउनुभयो ।
रोल्पाको थबाङस्थित मिरुल घर भएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले व्रिटिस सेना भर्ती भई अफगानिस्तानमा खटिएको समयमा घुँडाभन्दा तल दुबै गोडा गुमाउनुभएको हो । कार्यक्रममा सँगै सगरमाथा आरोहण गर्नुभएका उहाँका भाइ नन्द बुढामगर र आरोहण टोलीमा रहनुभएका मिङ्मा शेर्पा, जीत बहादुर तामाङ र कामी सिङ्गे शेर्पालाई पनि खादा लगाई सम्मान गरिएको थियो ।