detail-img

स्कुल विभागको प्रशिक्षण सम्पन्नः रिटर्नी फेडरेशनका पदाधिकारी तथा सदस्यहरू सहभागी 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित तीनदिने स्कुलको सातौँँ श्रृङ्खला आज सम्पन्न भएको छ ।  गतबर्षदेखि जनसंगठनका नेताकार्यकर्ताबाट सुरु गरिएको स्कुलको यस श्रृङ्खलामा वैदेशिक रोगजारीबाट फर्किएका युवाहरूको संगठन रिटर्नी फेडरेशन नेपालका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनुहुन्थ्यो । 
जेठ ७ गते आइतबारदेखि सुरु भएको प्रशिक्षणमा पार्टीका महाचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यद्वय भानुभक्त ढकाल र डा.राजन भट्टराई, पोलिटव्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्य कपिल पोखरेल र सूर्य पाठक, प्रा.डा. रमेश भट्टराई, लेखा आयोगका सचिव शिव अधिकारी र वाई. पी. आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

 
‘आजको सन्दर्भमा जनताको बहुदलीय जनवाद’ विषयमा प्रशिक्षण दिँदै महासचिव पोखरेलले जबजलाई मौलिक कार्यक्रम किन मानिन्छ भन्ने विषयमा विस्तृतमा चर्चा गर्नुभयो । उहाँले  जबजकै जग र २०४७ सालको संविधान जारी गर्दा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले अगाडि सार्नुभएको संविधानमा २७ बूँदे असहमति नै वर्तमान परिवर्तनको आधार भएको सविस्तार व्याख्या गर्नुभयो । 
उहाँले जबजका विशेषता, उपलब्धिको चर्चा गर्दै मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलन सफल भइसकेको परिप्रेक्ष्यमा पार्टीको नवौं महाधिवेशनपछि देशको आर्थिक, सामाजिक विकास गरी समाज रूपान्तरणको विषयमा केन्द्रित रहेर योजना निर्माण गरेको र सरकारमा छँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई राष्ट्रिय आकांक्षा र गन्तव्यका रूपमा अगाडि सारिएको स्पष्ट गर्नुभयो । 
जबजले दिशानिर्देश गरेको आर्थिक विकासको पाटोका बारेमा चर्चा गर्दै महासचिव पोखरेलले आर्थिक विकासको मापनमा देश कति धनी छ भन्ने कुरालाई होइन, जनता कति सुखी छन् भन्ने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ भन्नुभयो ।
स्कुलमा नेकपा (एमाले) को सिद्धान्त, महाधिवेशनको कार्यक्रम र कार्यदिशा, संगठन निर्माण, परिचालन र व्यवस्थापन, माक्र्सवादी दर्शन र सामाजिक रूपान्तरण, कूटनीतिक सम्बन्ध र भूराजनीति, सूचना, सञ्चार र प्रविधि, सूचना, सञ्चार र प्रविधि लगायत विषयमा प्रशिक्षण दिइएको थियो । साथै, स्कुलमा सहभागीहरूका जिज्ञासाको उपमहासचिव तथा विभाग प्रमुख प्रदीप ज्ञवालीले उत्तर दिनुभएको थियो ।  पार्टीका केन्द्रीय सदस्य तथा विभागका सचिव पेम्वा लामा, विभागका सदस्यहरू घनश्याम कोइराला, गेहेन्द्र दाहाल लगायतले स्कुलको प्रशिक्षणमा सहजीकरण गर्नुभएको छ ।