detail-img

सत्य अङ्गिकार गर्न नसक्ने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको विकृतिः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भाषा, धर्म र संस्कृतिसहितको विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता कायम गर्दै त्यसको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभएको छ ।  
अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो भन्नुहुँदै यसका आधारमा राष्ट्रिय एकता कायम गर्न सबैबीच सद्भाव हुनुपर्ने वताउनुभयो । 
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित इद मिलन तथा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नजिर मियाले लेख्नुभएको ‘सङ्घर्षशील आवाजहरू’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले नेपालको मुस्लिम समुदाय शान्तिप्रिय, देशभक्त आदिवासी समुदाय भएको बताउनुभयो ।  
अहिले पनि देशमा जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता भड्काउन खोजिएको हुँदा त्यस्ता कुरामा नबहकिन सचेत गराउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र पारस्परिक सद्भावसहितको राष्ट्रिय एकता कायम गर्न लाग्नुपर्ने भनाइ राख्नुभयो । 
उहाँले नेपालको सामाजिक, भौगोलिक, भाषिक तथा जातीय विविधतालाई अनेकता, फाटो र घृणाको विषय बनाउन नहुने वताउनुभयो ।


हाम्रा पुर्खाले राष्ट्रिय हितको पक्षमा एकता कायम गरेकाले नेपाल स्वाधीन रहेको वताउँदै अध्यक्ष ओलीले देशको रक्षा र विकासका लागि आज पनि सबै नेपाली एकजुट हुनुपरेको छ भन्नुभयो । उहाँले आफूले सरकारको नेतृत्व गर्दा असाधारण रूपमा विकासका काम भएको र अब एमालेलाई हल्लाउन सकिँदैन भन्ने निष्कर्षका साथ विरोधीहरूले अताल्लिएर षडयन्त्रपूर्वक सरकार ढालेको चर्चा गर्नुभयो । 
राजनीति देशको सुरक्षा र जनताको सेवा गर्ने माध्यम हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले राजनीतिलाई वैयक्तिक स्वार्थ पूरा गर्ने माध्यम बनाइनु हुँदैन, झूट र बेइमानीको माध्यम बनाइनु हुँदैन भन्नुभयो । उहाँले सत्यलाई अङ्गिकार नै नगर्ने प्रवृत्ति नेपालको राजनीतिमा देखिएको विकृति हो भन्नुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले ‘सङ्घर्षशील आवाजहरू’ पुस्तक लोकार्पण गर्नुभयो । उहाँले इद मिलनका अवसरमा सबैलाई शुभकामना दिनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तक लेखक, उहाँको परिवार र समुदायको इतिहास समेटिएको गहकिलो अभिलेखका रूपमा रहेको वताउनुभयो । उपमहासचिव ज्ञवालीले अर्घाखाँचीमा बसिर मियाको हत्या घटनाको स्मरण गर्दै त्यस घटनामा जोगिनुभएका नजिर मियाले मुस्लिम समुदायको एकताका लागि गर्नुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो– नेता नजिर मियाको ‘सङ्घर्षशील आवाजहरू’ पुस्तक सङ्घर्षको इतिहास भएको वताउनुभयो । 
पुस्तकबारे टिप्पणी गर्दै बरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले पुस्तकमा पाँच छ पुस्ताको पारिवारिक नालिवेली रहेकाले यो एउटा अभिलेख भएको वताउनुभयो । पुस्तकमा धर्म र समुदायबीचको सम्बन्ध, लेखकको राजनीतिक यात्रा, इत्तेहाद संगठन स्थापना, माओवादीको क्रूूर पक्ष लगायत विषय समेटिएको र पुस्तक राष्ट्रियताले ओतप्रोत रहेको दाहालले वताउनुभयो । 
कार्यक्रममा बरिष्ठ साहित्यकार तथा पुराना राजनीतिज्ञ मोदनाथ प्रश्रित, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा लगायत नेताहरूको उपस्थिति रहेको थियो ।