detail-img

केन्द्रीय कमिटी बैठकले आगामी कार्ययोजना निर्माण गर्नेछः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन ग्रासरुटका प्रदेशस्तरीय प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्ययोजना निर्माण गरिने वताउनुभएको छ । 
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको आज भएको मिसन ग्रासरुट समीक्षा बैठकको समापनका अवसरमा महासचिव पोखरेलले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टीका नौवटै प्रदेशका मिसन ग्रासरुटका प्रतिवेदन प्रस्तुत हुने र बैठकले तिनै प्रतिवेदनका आधारमा कार्ययोजना बनाउने वताउनुभयो । 
मिसन ग्रासरुटका क्रममा पत्ता लागेका समस्या र सुझावको जगमा कार्ययोजना बनाइने वताउँदै महासचिव पोखरेलले कार्ययोजनाको लक्ष्य ‘मिसन–२०८४’ हुने र पार्टीले २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी योजनाबद्ध ढङ्गले काम गरिने स्पष्ट गर्नुभयो । 
त्यसका लागि नेकपा (एमाले) सामाजिक र जनसरोकारका मुद्दामा सबैभन्दा अगाडि देखिनुपर्ने कुरामा जोड दिँदै महासचिव पोखरेलले एमालेलाई समाज परिवर्तनको नेता पार्टी बनाउन कार्यकर्तालाई वैचारिक, राजनीतिक र विषयगत प्रशिक्षण दिइने पनि वताउनुभयो ।


पार्टीमा नयाँ र युवा पुस्तालाई जोड्ने काम प्राथमिकताको विषय बन्नुपर्ने वताउँदै महासचिव पोखरेलले भन्नुभयो– अवसर र सम्भावनाको खोजीमा विभिन्न जिल्लाका लाखौं युवाहरू राजधानीमा रहेको छन् । ति युवालाई पार्टीमा जोड्न सम्पर्क कमिटी र मञ्चहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सम्पर्क कमिटीको काम प्रभावकारी हुँदा त्यसको प्रभाव देशैभरि पर्ने उहाँले वताउनुभयो । 
महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वको सरकारका पालामा गर्व गर्न लायक काम भएका र पार्टी कार्यकर्ताले ति काम जनतामा पुर्याई हामी अन्य दलभन्दा फरक हौं/छौं भन्न सक्नुपर्ने वताउनुभयो ।
नेकपा (एमाले) सबै कुरामा अब्बल रहेको वताउँदै महासचिव पोखरेलले पार्टीको पक्षमा पैरवी गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले चारबर्षमा एमालेमाथि प्रश्न गर्ने होइन, मान्छेले खोज्ने पार्टी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 
बैठकलाई सम्बोधन गर्दै उपमहासचिव बिष्णु रिमालले मिसन ग्रासरुट प्रतिवेदन मस्यौदा अवधारणा र प्रतिवेदनमा समावेश गर्नुपर्ने बिषयहरूका बारेमा जानकारी गराउनुभएको थियो ।    
त्यसैगरी पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डितले मिसन ग्रासरुटको दुईमहिना अवधिमा सदस्यता नवीकरण, विस्तार, कमिटी गठन, प्रशिक्षण र सम्मान कार्यक्रम गरेर उत्साह थप्ने र पार्टीलाई गतिदिने काम भएको विचार व्यक्त गर्नुभयो । 
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतको अध्यक्षतामा भएको समीक्षा बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधिहरू र सम्पर्क समन्वय कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा भएको समीक्षा बैठकको समापन समारोहमा सहसंयोजक स्थानेश्वर वस्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सचिव इन्द्र भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।