detail-img

सूचनाको दुरुपयोग संसारकै लागि चुनौतीपूर्णः उपमहासचिव ज्ञवाली

स्कुल विभागद्वारा ‘अध्ययन र अनुभूति’ श्रृङ्खला शुरू
१७ असार (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले रूपान्तरणका लागि पठन संस्कृति बढाउन ‘अध्ययन र अनुभूति’ श्रृङ्खला शुरू गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट यस्तो श्रृङ्खला शुरू भएको हो । 
पहिलो श्रृङ्खलामा पार्टी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली प्रस्तुत हुनुभयो । उहाँले इजरायली लेखक युवाल नोहा हरारीको चर्चित पुस्तक नेक्ससको अध्ययनपछिका अनुभूति सुनाउनुभयो ।  
सो अवसरमा उहाँले सूचनाको दुरुपयोग संसारकै लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । सूचनाको दुरुपयोगले व्यवस्था नै कमजोर हुने चर्चा गर्दै उपमहासचिव ज्ञवालीले सही र गलत सूचना छुट्याउन अध्ययन तथा तथ्य जाँच जरूरी रहेको उल्लेख गर्नुभयो ।  
नेपालको सन्दर्भमा मिडिया साक्षरता कमजोर रहेको बताउँदै उहाँले मिडिया साक्षरता बढाउँदा हरेक क्षेत्रमा सकारात्मक परिणाम हासिल हुने धारणा राख्नुभयो । 
गलत सूचनाको प्रवाह र सूचना प्रविधिको दुरुपयोगले समाजमा अनेक भ्रम फैलिने गरेका उदाहरणहरू प्रस्तुत गर्दै उपमहासचिव ज्ञवालीले नयाँ नयाँ सूचना प्रविधिलाई नयाँ ढङ्गले सही सदुपयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 
अर्को एक प्रसङ्गमा उहाँले हरेक आन्दोलन र सन्दर्भमा अब्बल रहने गरेको एमाले डिजिटल सूचना प्रणालीमा पनि अब्बल हुन आवश्यक रहेको औंल्याउनुभयो । 
उहाँले चर्चा गर्नुभएको पुस्तक नेक्सस २०२४ मा प्रकाशित भएको हो । ४८७ पृष्ठको यो पुस्तक विश्वका बढी बिक्री भएका पुस्तकमध्ये एक हो । 
विभागले हरेक महिना यसरी नै नयाँ र चर्चित पुस्तकहरूमाथि चर्चा गर्ने योजना बनाएको छ । आगामी श्रृङ्खलामा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रस्तुत हुनुहुने छ । 
कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल लगायत नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो । पहिलो श्रृङ्खलाको सहजीकरण विभाग सदस्य सिर्जना काफ्ले गर्नुभएको थियो ।