detail-img

अहिले पार्टीलाई एकताबद्धरूपमा अघि बढाउने समय होः उपमहासचिव गुरुङ

१७ असार (२०८२), रामेछाप  । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडने बेला नभएका बताउनुभएको छ । 
नेकपा (एमाले) रामेछापले मङ्गलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा साङ्गठनिक क्षमता अभिवृद्धिका लागि जिल्लास्तरीय कार्यशालामा बोल्दै उपमहासचिव गुरुङले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने समय हो भन्नुभयो ।  
पार्टीमाथि चौतर्फी हमला भइरहेको बेला पार्टीभित्रै यो र त्यो भनेर बहस चलाउनु उचित नहुने उहाँको धारणा छ । 
उपमहासचिव गुरुङले भन्नुभयो– अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने बेला होइन, एमालेमाथि चौतर्फी हमला भइरहेको छ, पार्टीमाथिको आक्रमण रोक्ने बेला आफैँभित्र प्रतिष्पर्धा गरेर पार्टीलाई कमजोर बनाउनु हुँदैन । 
नेतृत्वको बहस महाधिवेशनको बेला हुने उहाँले बताउनुभयो । उपमहासचिव गुरुङले भन्नुभयो– यस विषयमा हामीले महाधिवेशनको बेला बहस गर्ने छौँ, महाधिवेशनमा हामी सही निर्णय गर्ने छौँ, नेताहरूले रहर गरेर मात्र जिम्मेवारी पाइँदैन, समयको माग र आवश्यकताले निर्णय गर्छ, त्यसैले तपाईंहरू केपी ओली कि विद्या भण्डारी भनेर दौडनु पर्दैन । 
पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयोे । कसैले टिका लगाइदिएर नेतृत्वमा नपुगिने धारणा राख्दै उपमहासचिव गुरुङले भन्नुभयो– पार्टीले टिका लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन ।  
नेकपा (एमाले)मा अहिले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकता मौलाउँदै गएको उहाँले बताउनुभयो । अहिलेको बेमौसमको बाजा पनि त्यसको उपज भएको उपमहासचिव गरुङको धारणा छ । आफैँभित्रको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकता एमालेका लागि सबैभन्दा घातक भएको धारणा राख्दै उहाँले भन्नुभयो– पार्टीमा पद बाँड्दै हिँड्ने, आफू भए ठिक, अरू हुँदा गलत भन्ने प्रवृत्ति मौलाएको छ, यो कम्युनिष्ट पार्टीका लागि घातक कुरा हो । 
एमाले माक्र्सवादी विचार र लेनिनवादी सङ्गठनात्मक प्रणालीबाट विकसित भएर आएको पार्टी भएको बताउँदै उपमहासचिव गुरुङले अहिले एमालेको असल पद्धति कोमामा पुगेको हुँदा त्यसलाई बचाउनु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । 
नामले मात्र कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउँदै मन्त्री गुरुङले एमालेलाई कम्युनिष्ट पार्टी बनाउनु हो भने माक्र्सवादी दर्शन र लेनिनवादी सङ्गठन प्रणालीलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । अहिले अभियान विना कम्युनिष्ट पार्टीका सदस्यता नवीकरण समेत नहुने स्थिति आएको भन्दै उहाँले पार्टीभित्र व्यापक शुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको औँल्याउनुभयो । 
वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेको भए पनि नराम्रो काम पनि नगरेको र राम्रो काम गर्ने प्रयत्नमा रहेको मन्त्री गुरुङले बताउनुभयो । 
संयुक्त सरकार भएका कारण त्यसका केही सीमा हुने हुँदा एकलौटी सरकार जस्तो गरी आफ्ना नीति र कार्यक्रम लागु गर्न नसकिने बाध्यता बुझिदिन उहाँले आग्रह गर्नुभयो । 
मन्त्री वर्तमान सरकारले देश र व्यवस्थालाई बचाउने तथा देशको स्वाभिमानलाई झुक्न नदिने दृढता व्यक्त गर्नुभयो । त्यसकै लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस र एमालेको विचार र गन्तव्य नमिल्ने भए पनि देश र व्यवस्था बचाउने कुरामा दुवैको समान धारणा भएको मन्त्री गुरुङले बताउनुभयो ।