२८ असार (२०८२), झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापा र इलाममा दुई अस्पताल उद्घाटन गर्नुभएको छ । झापामा एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभयो ।
बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो । स्व. भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो ।
अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ । बहिरङ्ग र अन्तरङ्ग चिकित्सकीय सेवाअन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।
आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताउनुभयो । पालिकाले गत जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो । कार्यविधिअनुसार पालिकाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।
इलाम जिल्लासँग सीमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको यस भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसङ्ख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले उपचार पाउनेछन् ।
प्रधानमन्त्री ओलीले अस्पतालको उद्घाटन गर्नुहुँदै उपचार सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले यस अस्पतालको सञ्चालनपछि बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले गुणस्तरीय र भरपर्दो आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँमा पाउने विश्वास व्यक्त गर्नुभयो । प्रम ओलीले भगीरथा न्यौपाने एउटा समाजको उदाहरणीय व्यक्तित्व भएको भन्दै उहाँको प्रशंसा गर्नुभएको थियो ।
इलामको माई नगरपालिकामा निर्मित अस्पताल उद्घाटन
यसैगरी, प्रधानमन्त्री ओलीले इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताउनुभयो । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ । नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ । २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनुभयो ।
अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ । नगरपालिकाबासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्र उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको नगर प्रमुख लिम्बूले बताउनुभयो ।