detail-img

गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकः महासचिव पोखरेल

१५जेठ २०८२), काठमाडौं । आज गणतन्त्र दिवस, जनताले जितेको दिन, यस अवसरमा नेकपा (एमाले)ले राजधानी लगायत देशभर विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र विशेष उत्सव मनाएको छ । 
काठमाडौं उपत्यकामा तीन जिल्ला कमिटी, सो अन्तर्गतका पार्टी कमिटीहरू, उपत्यका विशेष प्रदेश कमिटी, जनसङ्गठनहरू, सम्पर्क समन्वय कमिटी, सम्पर्क मञ्चहरूको  सहभागितामा विभिन्न जातजातिका भेषभूषा, साँस्कृतिक झाँकी र बाजागाजासहित हर्सोल्लासपूर्ण वातावरणमा गणतन्त्र उत्सव मनाइयो । 
भृकुटीमण्डपबाट शुरू भएको साँस्कृतिक झाँकीसहितको र्याली भद्रकाली, शहीद गेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगी समापन गरिएको थियो ।
हजारौंको सहभागिता रहेको र्यालीमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवलगायत पदाधिकारीहरू, स्थायी कमिटी, पोलिटव्यूरो, केन्द्रीय कमिटीका नेताहरू सहभागी हुनुहुन्थ्योे ।  
र्याली समापन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रूपमा रहेको बताउनुभयो । 
उहाँले गणतन्त्र दिवसलाई जनताको उत्सवको रूपमा मनाउनुपर्दछ भनेर देशव्यापीरूपमा कार्यक्रम आयोजना गरिएको र यसबाट गणतन्त्रप्रति नेपाली जनताको अपनत्व बढाउने विश्वास व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले नेपालको आफ्नो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गरिएको  भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको बताउनुभयोे । सिङ्गो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेको बेला जनताको विजयको दिन नै गणतान्त्रिक व्यवस्थाबाट पछाडि फर्काउने अवाञ्छित गतिविधि हुन थालेपछि नेकपा (एमाले)ले गणतन्त्रप्रति जनताको अपनत्व गराउन र यसको रक्षाका लागि देशभर उत्सव मनाउने निर्णय गरेको उहाँले स्पष्ट गर्नुभयो ।  
कतिपय मानिसहरू लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको उल्लेख गर्दै उहाँले पञ्चायतका अन्तिम समयमा धनी र गरिबबीचको खाडल २१ गुणा थियो तर आज त्यो खाडल घटेर छ गुणामा सीमित भएको, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार लगायत क्षेत्रमा भएको विकास र उपलब्धिको तथ्य प्रस्तुत गर्नुभयो । महासचिव पोखरेल लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउँछ भन्ने मान्यतालाई आफूहरूले स्थापित गर्न सकेको बताउनुभयो ।  
यही जेठ ११ गते बसेको पार्टीको ५२औं सचिवालय बैठकले गणतन्त्र दिवसको दिन देशभर विशेष उत्सव मनाउने निर्णय गरेको थियो ।