detail-img

प्रधानमन्त्रीद्वारा मधेस प्रदेशमा ६४ वटा सडक एकैसाथ शिलान्यास 

१८ जेठ (२०८२), जनकपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको ‘एक निर्वाचन क्षेत्रः एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ । 
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ती सडक शिलान्यास गर्नुभएको हो  ।


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने स्पष्ट गर्नुभयो । 
प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गर्नुभएको हो । 
सुशासन र विकासमा जोड दिँदै उहाँले भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभई रकेटको शैलीमा काम गर्न आग्रह गर्नुभयो । 
कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने प्रधानमन्त्रीको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने छ । साथै ३१ दशमलव ०७ मेगावाट विद्युत उत्पादनबाट औद्योगिक विकासमा टेवा पुर्याइने छ । रु ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेड वक्र्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूमिका रूपमा रहेको मधेस प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य गर्न आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताउनुभयो । 
उहाँले चुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुर रङ्गशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता कामलाई गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गर्नुभयो । 
उहाँले सुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारवाही हुने स्पष्ट गर्नुभयो ।