detail-img

राज्य कमजोर बनाउन सुनियोजित प्रचारः महासचिव पोखरेल

१२ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताउनुभयो । यसले राज्य र नागरिकका बीचमा द्वन्द्व सिर्जना गरेको उहाँको धारणा छ । 
‘लोकतन्त्रलाई राज्य बलियो बनाउने र बलियो राज्यका माध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो । 
आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बीच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नुपर्ने उहाँको धारणा छ । 
समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले नकारात्मक समाचारले समाजलाई गलत दिशातर्फ लैजाने धारणा राख्नुभयो । 
‘नकारात्मक समाचारले समाजलाई गलत दिशातर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर समाचार सम्प्रेषण गर्नुपर्दछ’, उहाँले भन्नुभयो । 
महासचिव पोखरेलले पत्रकार सधैँ सिर्जनात्मक हुनुपर्ने, त्यसो भएन भने पत्रकार नसुनिने र नदेखिन पात्र बन्ने धारणा राख्नुभयो । ‘पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामथ्र्य देखाउनु पर्दछ’, उहाँले भन्नुभयो । 
सूचनामा बल हुने तर यसका लागि बलियो नेटवर्क हुनुपर्ने बताउँदै महासचिव पोखरेलले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रह गर्नुभयो । 
नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएको उहाँले बताउनुभयो । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने गरेको महासचिव पोखरेलको धारणा छ । 
नेपालका सबै सूचनामा पत्रकारको पहुँच भयो भने कुन चिज प्रायोजित हो र कुन वास्तविक हो भन्ने कुरा सार्वजनिक हुने भनाइ राख्नुहुँदै उहाँले पत्रकारलाई आफ्नै सूचनाको जगमा उभिन आग्रह गर्नुभयो । अहिले एमाले र एमालेको नेतृत्वमाथि चौतर्फी घेराबन्दी भएको र त्यो घेराबन्दी नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएका कारण नभएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उहाँको धारणा छ । 
महासचिव पोखरेलले भन्नुभयो– यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा (एमाले) हो । 
लोकप्रियवादले समाजलाई दुर्घटनातर्फ लैजाने बताउँदै यसले देशलाई विकास र समृद्धि दिन नसक्ने उहाँको धारणा छ । लोकप्रियवाद समस्याको समाधान नभएको उहाँले स्पष्ट पार्नुभयो ।
समाजलाई भ्रमबाट मुक्त गराउने र सत्य कुरा प्रवाह गर्ने काम पत्रकारले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसमा विकास भएको नकारात्मक भावनालाई चिर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
सूचना र प्रविधिको गलत प्रयोगले समाजलाई गलत दिशातर्फ लगेको बताउँदै त्यसबाट देशलाई सही बाटोमा ल्याउने सामथ्र्य नेकपा (एमाले)ले मात्रै राख्ने उहाँको भनाइ छ । 
प्रेस चौतारी नेपाल केन्द्रीय समितिको खुमलटारमा जारी बैठकले २०८२ साललाई सङ्गठनको प्रशिक्षण वर्ष घोषणा गरेको छ । 
सङ्गठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता जारी बैठकमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायत सहभागी हुनुहुन्छ ।