१० वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)ले लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा आयोजना गर्ने ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पुरा भएको छ ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोलि दिउँसो १ बजेबाट ‘युथ सेलिब्रेसन’ गर्दै छ । देशभरबाट ४० वर्ष मुनिका युवाको सहभागिता गराइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा परिचालनको जिम्मा पाउनु भएका राष्ट्रिय युवा सङ्घ, नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो ।
आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू आउने क्रम सुरु भइसकेको बताउनुभयो । ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, अध्यक्ष थेवेले भन्नुभयो ।
कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने र देशभरबाट एकलाख युवाले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।
भोलिको दिन युवाले देश बनाउने सङ्कल्प गर्ने दिन भएको पनि उहाँले बताउनुभयो । यो देश युवाले नै बनाउने र बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
कार्यक्रमको सबै तयारी पुरा भएको बताउँदै उहाँले भोलिको कार्यक्रम नियमित खालको भन्दा फरक खालको हुने जानकारी दिनुभयो । ‘भोलिको कार्यक्रममा हामीले नयाँ पन दिने छौँ, कार्यक्रम पूर्णरूपमा युवामैत्री हुने छ’, अध्यक्ष थेबेले भन्नुभयो ।
भोलिको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नु हुने कार्यक्रम छ । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ ।
कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफिसप, फुडसपहरू तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ ।
पत्रकार सम्मेलनमा काठमाडौं उपमहानगरपालिका प्रमुख सुनिता डङ्गोल तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि उपस्थित हुनुहुन्थ्यो ।