detail-img

‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन जनसङ्गठनहरू जनतासँग जोडिनुपर्छ’

१० वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरता विना विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ । 
नेपाल खेलकुद महासंघको चौथो बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले देश विकासको लागि स्थायित्व र राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो । ‘राजनीतिक अस्थिरता हाम्रो समाजको विकास र समृद्धिको चुनौती हो’, उहाँले भन्नुभयो । 
बारम्बार हुने सरकार परिवर्तनले देश नबन्ने उहाँले बताउनुभयो । देश बनाउने हो भने सबैभन्दा पहिलो राजनीतिक स्थायित्व आवश्यक रहेको र त्यसका लागि बलिया राजनीतिक दल आवश्यक रहेको महासचिव पोखरेलको धारणा छ । 
देशमा स्थिरता, स्थायित्व र विकासका लागि नेकपा (एमाले)लाई निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक रहेको हुँदा  यसका लागि पार्टी र जनसङ्गठनहरू जनतासँग जोडिनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीमा युवालाई जोडेर यो लक्ष प्राप्त गर्न सकिने उहाँको धारणा छ । 
अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने योजनाका साथ पूर्वमण्डलेहरू राजा चाहियो भन्दै सडकमा निस्किएका उहाँले बताउनुभयो । हिजो राजाको पालामा दुःख कष्ट थियो भन्ने कुरा अनुभूत गरेकाहरू निरङ्कुश राजतन्त्रको पक्षमा उभिन नसक्ने महासचिव पोखरेलको धारणा छ ।