राष्ट्रिय युवा महिला भेला
१० वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजन हुन आवश्यक रहेको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ केन्द्रीय युवा कमिटीद्वारा आयोजित दोस्रो राष्ट्रिय युवा महिला भेलालाई आज ललितपुरको च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले समाज निर्माणका लागि पाका, मझौला र युवा पुस्ताको संयोजन आवश्यक रहेको बताउनुभयो ।
‘हामी तीन पुस्ताको संयोजनको आधारमा गतिशील समाज निर्माण हुन्छ भन्ने मान्यता राख्दै आएका छौँ’, उहाँले भन्नुभयो ।
भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आउँदा एमालेमा युवा नै युवा भएकोर त्यस बेला पाका मानिसहरूलाई पार्टीमा जोड्न नेकपा माक्र्सवादीसँग पार्टी एकता गरिएको महासचिव पोखरेलले स्मरण गराउनुभयो ।
अहिले त्यसको ठिक विपरीत आज पार्टीमा पाका पुस्ताको बाहुल्यता रहेको र युवा पुस्तालाई जोड्नुपर्ने अवस्था रहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– प्रतिस्पर्धाको राजनीतिमा यो राम्रो लक्षण होइन, प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन युवालाई जोड्नुपर्छ, पार्टीको राजनीतिमा युवालाई जोड्न सबै लाग्नुपर्छ ।
उहाँले सबै पालिका र वडास्तरसम्म अनेमसंघसँगै युवा महिलालाई जोड्नुपर्ने बताउनुभयो । देशभरका युवालाई पार्टीमा जोड्न आवश्यक रहेको र महिला सदस्यको सहभागिता पनि बढाउनुपर्ने धारणा राख्नुभयो ।
युवा सहभागिता बृद्धिकै लागि नेकपा (एमाले)ले देशभरका युवालाई सहभागी गराएर लोकतन्त्र प्राप्तिका दिन भोलि वैशाख ११ गते युथ सेलिब्रेसन गर्न लागिएको बताउनुभयो ।
भोलिको कार्यक्रमबाट अब देश युवाले बनाउँछन् र बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्ने उहाँको धारणा छ ।
नेकपा (एमाले)ले नेपालमा राज्यका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धिका लागि निर्णायक भूमिका खेलेको र एमालेकै कारण राज्यका निकायमा ३३ प्रतिशत बढी महिला सहभागिता स्थापित भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । एमाले महिला सहभागिता मात्र होइन नेतृत्वदायी स्थानमा महिलालाई स्थापित गराउने पनि पहिलो पार्टी भएको र अहिले हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि भएको उहाँको भनाइ छ ।
पछिल्लो समय राजावादीको नाममा सामन्तवादी मण्डलेहरू लोकतन्त्रले के दियो भन्दै टाउको उठाउन लागेका भन्दै उहाँले उनीहरूलाई आफ्नो विगत हेर्न सुझाव दिनुभयो ।