‘वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन’
८ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ ।
लोकतन्त्रले जितेको दिन वैशाख ११ गते पार्टीले आयोजना गर्ने ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रमको तयारीका सन्दर्भमा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापीरूमा युवाको सहभागिता गराइने बताउनु भयो ।
पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्षहरूका साथै जनप्रतिनिधिहरूको सहभागिता रहेको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टीले तय गरेको कार्यक्रमलाई ऐतिहासिक बनाउन देशभरका युवाको सहभागिता आवश्यक रहेकाले राजधानी आउने अन्तिम र व्यवस्थित तयारी गर्न निर्देशन दिनुभयो ।
उहाँले युथ सेलिब्रेसनमा सबै जनप्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन निर्देश गर्दै स्थानीय युवालाई काठमाडौं ल्याउने काममा पनि अगुवाइ गर्न आग्रह गर्नुभयो । पार्टीले हरेक वडाबाट कम्तीमा दुईजना युवाको सहभागिता होस् र त्यसमध्ये सम्भव भएसम्म एक जना महिला सहभागी गराउने निर्णय गरेको जानकारी गराउँदै युवालाई राजनीतिमा जोड्ने कुरामा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
यतिबेला प्रतिगामी तथा प्रतिगमनकारी तत्वहरू वर्तमान शासन व्यवस्था, राजनीतिक परिवर्तनप्रति अनास्था र वितृष्णा पैदा गर्ने दुष्प्रयास गरिरहेका र नेकपा (एमाले), यसको नेतृत्वमाथि सङ्गठित र नियोजित रूपमा प्रहार भइरहेको जानकारी गराउँदै महासचिव पोखरेलले गणतन्त्र रक्षाका लागि पार्टीे शुरु गरेको सचेतना कार्यक्रमबाट प्रतिगामी हर्कतहरू केहीमात्रामा निस्तेज भएको विश्लेषण सुनाउनुभयो ।
वैशाख ११ गतेका लागि तय भएको युथ सेलिब्रेसनबाट राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा र प्रतिगमनकारी हर्कत सदाका लागि समाप्त पार्न सहयोगी हुने विश्वास व्यक्त गर्दै पार्टीले यस कार्यक्रमबाट युवालाई भविष्यप्रति आशावादी बनाउन चाहेको उहाँले बताउनुभयो ।